• २ असार २०८१, आइतबार

बागमती सरकारको ३४ प्रतिशतभन्दा कम आम्दानी

blog

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, फागुन २४ गते । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को माघ महिना सकिँदा  करिब एक तिहाइ मात्र आम्दानी भएको छ ।

चालु आवमा ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँ राजस्व, अनुदान र अन्य स्रोतबाट आम्दानी हुने अनुमान गरेको प्रदेश सरकारको माघ मसान्तसम्ममा ३३.६७ प्रतिशत अर्थात् २१ अर्ब ११ करोड ५७ लाख ५२ हजार ३७५ रुपियाँ आम्दानीभएको हो ।

प्रदेश सरकारले गत असारमा ल्याएको चालु आवको बजेटमा राजस्व बाँडफाँटबाट २६ अर्ब ६८ करोड ६८ लाख ४० हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएकोमा गत माघ भित्रमा १० अर्ब ६८ करोड ३७ लाख ८३ हजार ७५५ रुपियाँ प्राप्त भएको बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत डा. अर्जुन अर्यालले जानकारी दिनुभयो ।

यस्तै, सङ्घीय सरकारबाट समानीकरण, विशेष, सशर्त र समपूरक गरी चालु आवमा १७ अर्ब ८१ करोड २३ लाख रुपियाँ अनुदान प्राप्त हुने अनुमान गरिएकोमा गत माघसम्ममा सात अर्ब ६९ करोड १४ लाख ११ हजार रुपियाँ निकासा भइआएको छ ।

प्रदेश सरकारको आफ्नै स्रोतबाट सङ्कलन हुने राजस्वतर्फ चालु आवमा प्रदेश सरकारले तीन अर्ब ७५ करोड ५२ लाख ३५ हजार सङ्कलनको अनुमान गरेकोमा माघ महिनासम्ममा दुई अर्ब सात करोड तीन लाख ६९ हजार १०१ रुपियाँ सङ्कलन गरेको छ । 

यसैगरी गत आर्थिक वर्षको नगद मौज्दात, बेरुजु तथा अनुदान फिर्ताबाट गरी १४ अर्ब ४५ करोड ४७ लाख तीन हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएकोमा माघ मसान्तसम्म ६७ करोड एक लाख ८८ हजार ८७९ रुपियाँ मात्र प्राप्त भएको मन्त्रालयको वित्तीय प्रगति विवरणमा उल्लेख छ । 

मन्त्रालयको वित्तीय प्रगति विवरणअनुसार बाँडफाँटबाट प्राप्त हुने राजस्वतर्फ वन रोयल्टी, खानी तथा खनिजसम्बन्धी रोयल्टी, विद्युत्सम्बन्धी रोयल्टी र पर्वतारोहणसम्बन्धी रोयल्टी प्राप्तिको अवस्था माघ मसान्तसम्म शून्य छ ।