• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा

blog

मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर जिम्मेवारीबाट बाहिरिएको जानकारी गराउँदै मन्त्री नरेशकुमार शाही ।

अविनाश चौधरी

धनगढी, फागुन २४ गते । नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । प्रदेश सरकारलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो । 

माओवादीले हिजो र एकीकृत समाजवादीले आज प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । दुवै पार्टीले सरकारको साथ छाडेपछि प्रदेश सरकार अल्पमतमा परेको छ । नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरी २५ जना प्रदेश सभा सदस्य सरकारको पक्षमा छन् । 

सुदूरपश्चिममा बहुमत पुगाउन २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घमा नेकपा (एमाले), रास्वपा, एकीकृत समाजवादी, जसपासहित नयाँ समीकरण बनाएपछि सुदूरपश्चिम प्रदेश सरकार अप्ठ्यारोमा परेको छ । 

मुख्यमन्त्री शाहले गतवर्ष माघ २६ गते कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी सम्मिलित संयुक्त सरकार गठन गर्नु भएको थियो । एक वर्षपछि उत्पन्न राजनीतिक नयाँ परिस्थितिका कारण प्रदेश सरकार पुनर्गठनको जोड–घटाउ फेरि सुरु भएको छ । 

गठबन्धनसँग माओवादीका ११, एमालेका १० र एकीकृत समाजवादीको चार गरी २५ जना प्रदेश सभा सदस्य छन् । त्यस्तै, विपक्षी दल राप्रपाका एक र स्वतन्त्र एक समेत गरेर सरकारबाहिर बहुमत पुग्नेगरी २७ जना प्रदेश सभा सदस्य देखिएका छन् । यद्यपि, वर्तमान सरकार र नयाँ गठबन्धन दुवैसँग तत्कालीन अवस्थामा बहुमत पुगेको छैन । 

नेकपा (एकीकृत समाजवादी) बाट आर्थिक मामिलामन्त्री हुनु भएका नरेशकुमार शाहीले आज मुख्यमन्त्री शाहलाई भेटेर देशमा आएको राजनीतिक समीकरणले आफूले जिम्मेवारीबाट बिदा लिएको जानकारी गराउनुभएको छ । १४ महिना आर्थिक मामिलामन्त्रीको रूपमा जिम्मेवारी बहन गर्दाको अनुभव सन्तोषजनक रहेको भन्दै उहाँले मुख्यमन्त्री शाहको नेतृत्वप्रति गर्वसमेत गर्नुभयो ।