• २ असार २०८१, आइतबार

किशोरीहरूको रक्तअल्पता परीक्षण सुरु

blog

रमेश विश्वकर्मा

गुल्मी, फागुन २४ गते । गुल्मीमा सामुदायिक विद्यालयका किशोरीहरूको रक्तअल्पता परीक्षण सुरु भएको छ । सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरूको रक्त अल्पता परीक्षण गरी रेसुङ्गा नगरपालिकाबाट अभियान सुरु गरिएको हो ।

स्वास्थ्य कार्यालय गुल्मीको आयोजना तथा रेसुङ्गा नगरपालिकाको समन्वयमा जिल्लाकै सबैभन्दा धेरै छात्राहरू अध्ययनरत यस विद्यालयमा रहेका किशोरीहरूको रक्त अल्पता परीक्षण गर्न सुरु गरिएको बताइएको छ । यस जिल्लामा आर्थिक वर्ष २०७७र०७८ देखि १० देखि १९ वर्ष उमेर समूहका किशोरीहरूलाई आइरन र फोलिक एसिड खुवाउँदै आएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो ।

जिल्लाका १२ वटै स्थानीय तहमा रहेका विद्यालयमा अध्ययनरत किशोरीहरूलाई वर्षको दुई पटक १३र१३ हप्ताको फरकमा आइरन र फोलिक एसिड खुवाइएको छ । यसरी आइरन र फोलिक एसिड सेवन गरिरहेका किशोरीहरूको रक्त अल्पताको अवस्था के कस्तो रह्यो रु भनेर परिणाम हेर्नका लागि परीक्षण सुरु गरिएको आचार्यले बताउनुभयो । प्रत्येक पालिकाको दुई वटा माध्यमिक विद्यालयमा रक्त अल्पताको परीक्षण गरिनेछ ।

परीक्षणका क्रममा किशोरीको उचाइ र तौल समेत मापन गरिनेछ । यस जिल्लामा पाँच हजार ९०० किशोरीको रक्त अल्पता परीक्षण गर्न लागिएको उहाँले बताउनुभयो । सात प्रदेशमध्ये लुम्बिनी प्रदेशमा किशोरीहरूमा रक्त अल्पता, पुड्कोपन तथा मोटोपन पनि बढिरहेकोले यो अभियान सञ्चालन गरिएको बताउनुभयो ।

त्यस अवसरमा जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले किशोरीहरूको रक्त अल्पता परीक्षण गरी उनीहरूको वृद्धि र विकासका लागि यो कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनुभयो । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिल ध्वज पन्थीले मानव पुँजीको विकासले मात्रै समृद्धि हासिल गर्न सकिने भएकाले रक्त अल्पताको परीक्षणबाट स्वस्थ नागरिक तयार गर्नका लागि सहयोग पुग्ने बताउनुभयो ।

त्यस्तै, यस जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले स्वस्थ नागरिक र सभ्य समाज निर्माण तथा दिगो विकासको लक्ष्य हासिलका लागि पनि यो कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।