• २ असार २०८१, आइतबार

पत्रकार थापाको निधन

blog

अग्रज पत्रकार जितसिंह थापा । तस्बिर: फाइल

गोकर्ण दयाल

बैतडी, फागुन २४ गते । नेपाल पत्रकार महासङ्घ बैतडी–दार्चुला शाखाका संस्थापक सदस्य एवं बैतडीका अग्रज पत्रकार जितसिंह थापाको निधन भएको छ । दशरथ चन्द नगरपालिका–८, त्रिपुरा घर भएका थापाको बुधवार साँझ ७३ वर्षको उमेरमा निधन भएको हो । 

नेपाल पत्रकार महासङ्घको बैतडी–दार्चुला शाखाको २०५९ सालमा संस्थापक सदस्य भएर थापाले पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको वरिष्ठ पत्रकार लक्ष्मीदत्त पाण्डेयले बताउनुभयो । दुर्गममा पत्रकारिताको जग बसाल्न थापाको महत्त्वपूर्ण योगदान रहेको पाण्डेयले बताउनुभयो ।

भारतीय सेनाबाट सेवा निवृत्त भएपछि थापा २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा लाग्नुभएको थियो । उहाँ भारतीय पत्रिका अमर उजाला लगायतका सञ्चार माध्यममा रिपोर्टिङ गर्नुहुन्थ्यो । 

२०४८ सालको निर्वाचनपछि थापा बैतडी जिल्लाको तत्कालीन इलाका नम्बर ६ बाट जिल्ला विकास समिति सदस्यमा समेत निर्वाचित हुनु भएको थियो । पछिल्लो समयमा विभिन्न रोगबाट पीडित थापाको बुधवार साँझ आफ्नै निवासमा निधन भएको हो ।