• ६ जेठ २०८१, आइतबार

गाजामा सहायता खोज्ने प्यालेस्टिनीहरुको हत्याप्रति एयु आयोगका प्रमुखद्वारा निन्दा

blog

अदिस अबाबा, फागुन १९ गते । अफ्रिकी सङ्घ (एयु) आयोगका अध्यक्ष मोसा फकी महामतले गाजामा मानवीय सहायताको पर्खाइमा बसेका प्यालेस्टिनीहरुको सामूहिक हत्याको “कडा निन्दा” गर्नुभएको छ । अध्यक्षले बिहीबार कब्जा गरेको उत्तरी गाजामा जीवन बचाउने मानवीय सहायता खोज्ने १०० जनाभन्दा बढी निहत्था प्यालेस्टाइनीहरुलाई आक्रमण गर्ने इजरायली सेनाको कदमको कडा शब्दमा निन्दा गर्नु भएको छ । उहाँले घटनाको अन्तर्राष्ट्रियरुपमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नु भएको छ ।

इजरायली सेनाको आक्रमणबाट बिहीबार गाजा शहरको पश्चिमी तटीय सडकमा सहायताको लागि पर्खिरहेका प्यालेस्टिनीहरुको भीडमा गोली चलाउँदा एक सय १५ जनाको मृत्यु भएको र सात सय भन्दा बढी घाइते भएका छन् । यता इजरायली सेनाका प्रवक्ताले गाजा पट्टीमा बिहानै प्रवेश गरेका सहायता ट्रकहरुमा गाजावासीहरुले आक्रमण र लुटपाट गरेपछि सेनाले “आत्मरक्षामा“ गोली चलाएको बताउनु भएको छ ।

प्यान-अफ्रिकी ब्लकका अध्यक्षले “प्यालेस्टिनी जनताको जीवन र अस्तित्व विरुद्ध इजरायल सरकारले अगाडि बढाइरहेको आक्रमणलाई रोक्न ओगटेड प्यालेस्टाइनमा तत्काल विना शर्त युद्धविराम” का लागि एयुकातर्फबाट पुनः आह्वान गर्नु भएको छ । उहाँले प्यालेस्टिनी जनताको अधिकार सुनिश्चित गर्न र शान्ति स्थापना गर्न आफ्नो जिम्मेवारी वहन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह पनि गर्नु भएको छ । रासस/सिन्ह्वा