• १२ साउन २०८१, शनिबार

चुरेका ग्रामीण सडकको स्तरोन्नति

blog

गोदावरी (कैलाली), फागुन १९ गते । कैलालीको चुरे गाउँपालिका क्षेत्रभित्रका ‘ट्र्याक’ खोलिएका ग्रामीण सडकको स्तरोन्नति गर्ने काम सुरु भएको छ । ट्र्याक खुलेका कच्ची सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम सुरु गरिएको हो । 

चौमाला-गर्भा दरबार, चौमाला-खैराला, सहजपुर-अलाडनिगाली, देउराली-मौरे सडकको ठेक्का सम्झौता भई स्तरोन्नतिको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर उमेशराज जोशीले बताउनुभयो । चौमाला-गर्भा दरबार सडकअन्तर्गत चार किलोमिटर सडक स्तरोन्नतिका लागि चुरे निर्माण सेवासँग ८३ लाख ९८ हजारमा ठेक्का सम्झौता भएको छ । 

चौमाला-खैराला चार किलोमिटर सडकका लागि नारायण भागीरथी निर्माण सेवासँग ३१ लाख, सहजपुर-अलाडनिगाली पाँच किलोमिटर सडकका लागि शुक्रकमली अक्रित निर्माण कम्पनीसँग एक करोड ५६ लाख र देउराली-मौरे तीन किलोमिटरका लागि नागार्जुन कन्स्ट्रक्सनसँग ३७ लाखमा ठेक्का सम्झौता भएको इन्जिनियर जोशीले जानकारी दिनुभयो ।

स्तरोन्नति हुन लागेको सडकमध्ये सहजपुर-अलाडनिगाली सडकको २०६५ साल अघि नै ट्र्याक खुलेको थियो । चौमाला-गर्भा दरबार, चौमाला-खैराला, देउराली-मौरे सडक भने तीन वर्षअघि नै ट्र्याक खुलेको जनाइएको छ । सङ्घीय सरकार र प्रदेश सरकारको समपूरक अनुदानबाट अहिले सडक स्तरोन्नति गर्न थालिएको हो ।

निर्माण कम्पनीले गाउँपालिकासँग सम्झौता भई चालू आर्थिक वर्षको असारसम्म स्तरोन्नति सम्पन्न हुने गरी काम सुरु भएको इन्जिनियर जोशीको भनाइ छ । साँघुरो सडकलाई चौडा गर्ने, पर्खाल लगाउने र आवश्यकताअनुसार नाली निर्माण गरिने भएको छ । चौमाला-गर्भा दरबार सडक खण्डअन्तर्गत कटौजे भिरमा निकै अप्ठ्यारो भएकाले चट्टान फोरेर सडक चौडा बनाउनुपर्ने गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो । 

चुरे गाउँपालिकाका छ वटै वडाका सडक सञ्जालसँग जोडिएकाले क्रमशः सबै सडकको स्तरोन्नति गर्दै जाने गाउँपालिकाको नीति रहेको उहाँले बताउनुभयो । ट्र्याक खोलिएका सडकको स्तरोन्नति नहुँदा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य हुनुपरेको स्थानीयको भनाइ छ । सडक स्तरोन्नतिपश्चात् यात्रा र सामान ढुवानी गर्न सहज हुने जनाइएको छ । 

विगतमा सडक यातायातको पहुँच नहुँदा पिठ्यूँमा भारी बोक्नुपर्ने बाध्यता रहेकामा अब चुरे गाउँपालिकाका सबै वडामा सडक यातायात पुगेसँगै त्यहाँ उत्पादित फलफूललगायत कृषिजन्य वस्तुले बजार पाउन थालेको स्थानीय प्रेम गुरुङले बताउनुभयो । ऐतिहासिक गर्भा दरबार जोड्ने सो ग्रामीण सडकको स्तरोन्नति भएपछि खैराला दरबार अवलोकन गर्ने आन्तरिक पर्यटकको चहलपहल बढ्ने जनाइएको छ । रासस