• १२ साउन २०८१, शनिबार

नेपालगञ्ज–गुलरिया सडक पेडारीमा पक्की पुल बन्ने

blog

बाँकेको खजुरास्थित पेडारी नाला । तस्बिर: गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, फागुन १९ गते । नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका –३  खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पक्की पुल निर्माण हुने भएको छ ।

खजुरामा ६ वर्ष अघिदेखि चार लेन सडक निर्माण सुरु भएको भए पनि साँघुरो र जीर्ण पुल भएका कारण आवागमनमा सास्ती हुँदैआएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले नयाँ पुल निर्माणका लागि डिजाइनको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । 

योजना प्रमुख भण्डारीले भन्नुभयो, ‘डिजाइन प्राप्त हुनासाथ ठेक्काका लागि सडक विभागमा बुझाउने तयारी छ ।’ फागुन महिनाको अन्त्यसम्म पुल निर्माणका लागि टेण्डर हुने कार्यालयले जनाएको छ । 

पेडारी नालामा नयाँ पुल २२ मिटर चौडाइ र ३३ मिटर लम्बाइको हुने प्रारम्भिक डिजाइनमा उल्लेख छ । पेडारी नालामा साँघुरो र जीर्ण पुल भएका कारण बर्षायाममा खोलामा बाढी आउँदा पटक–पटक सवारी आवागमन प्रभावित हुने गरेको छ । 

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले नेपालगन्जदेखि बर्दियाको गुलरिया जोड्ने हुलाकी सडक अन्तर्गत पेडारी नालाको पुल अत्यन्त जीर्ण र होचो भएका कारण नालामा पानीको सतह बढ्नासाथ पानी सडक भएर बग्नेगरेको बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘अग्लो पुल निर्माणका लागि पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ भएको थिएन, अब पुल निर्माणका लागि प्रक्रिया अघि बढेको छ । समयमै काम होस् गाउँपालिकाका तर्फबाट आवश्यक सहजिकरण गर्नेछौँ ।’