• १६ वैशाख २०८१, आइतबार

नेपाललाई नेदरल्यान्ड्सले दियो १२१ रनको मध्यम लक्ष्य

blog

नेदरल्यान्ड्सको विकेट लिएपछि नेपाली खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, फागुन १९ गते । नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलमा जितका लागि नेपाललाई नेदरल्यान्ड्सले एक सय २१ रनको मध्यम लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रन बनायो । नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले सर्वाधिक ३१ रन बनाउनुभयो ।

यस्तै टिम भानले २४, रोयलफ भानले २३ र कप्तान स्कट इडवार्डले १८ रन बनाउनुभयो । बलिङमा नेपालका प्रतिश जिसीले तीन विकेट लिनुभयो । करण केसी र कुशल मल्लले दुई दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो । 

नेपाललाई फाइनल खेल्ने सम्भावना कायम राख्न आज नेदरल्यान्ड्समाथि जित निकाल्नु पर्ने बाध्यता छ । नेपालले शुक्रबार नामिबियामाथि तीन रनको रोमाञ्चक जित निकाल्दै फाइनल खेल्ने सम्भावना जीवित राखेको थियो । 

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । आज जित निकाल्न सके नेपालले चार अङ्क जोड्नेछ । अहिले तीन खेलबाट दुई अङ्क बनाएको नेपाल दोस्रो स्थानमा छ । नामिबियाको पनि समान खेलबाट दुई अङ्क छ । 

दुई खेलबाट चार अङ्क बनाएको नेदरल्यान्ड्स शीर्षस्थानमा छ । आइतबार नेदरल्यान्ड्स र नामिबियाको खेल हुनेछ । उक्त खेलमा नेदरल्यान्ड्स विजयी भएका नेपाल सहजै फाइनल पुग्नेछ । यदि नामिबिया विजयी भएपनि नेपालको अघिल्लो यात्रा नेट रनरेटमा भर पर्नेछ ।