• ७ जेठ २०८१, सोमबार

भुटानिज यूथ र आयोजक यूथबिच फाइनल भिडन्त

blog

दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

हरिप्रसाद कोइराला 

उर्लाबारी, फागुन १९ गते । सहआयोजक भुटानिज यूथ क्लब (विवाइसी) बेलडाँगी मोरङको पथरीशनिश्चरे–१० स्थित प्रस्तावित नगर रङ्गशालामा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार भएको तनावपूर्ण खेलमा मोरङको बेलबारी फुटबल क्लबलाई २–१ गोलले हराउँदै भुटानिज यूथ क्लब फाइनल प्रवेश गरेको हो । फाइनलमा भुटानिज यूथले आयोजक यूथ फुटबल क्लबसँग आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

भुटानिज यूथ क्लबका लागि ५०औँ मिनेटमा डेभिटले उमेश कार्कीको पासमा पहिलो गोल गर्नुभयो । त्यसपछि ५५औँ मिनेटमा बेलबारी फुटबल क्लबका विवेक पौडेलले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउनुभयो । डिबक्स भित्र भुटानिज यूथका भेरिटल ह्यान्ड गरेपछि बेलबारीले पेनाल्टीको मौका पाएको थियो । 

७९औँ मिनेटमा भुटानिज यूथ क्लबका उमेश कार्कीले गोल गर्दै टोलीलाई फाइनलमा लग्नुभयो । उमेशको प्रहार विपक्षी गोलरक्षक सुमन श्रेष्ठको पञ्जाबाट खुस्किएर जाली चुमेको थियो । उमेश कार्कीले म्यान अफ दि म्याच बन्दै तीन हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

भुटानबाट २०४७ सालमा शरणार्थीको रूपमा नेपाल प्रवेश गरेका भुटानिज मूलका नेपालीले प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगिताको विजेता टोलीले दुई लाख एक हजार र उपविजेताले एक लाख एक हजार रुपियाँ पुरस्कार पाउनेछन् ।