• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री बागलुङको पञ्चकोटमा

blog

प्रधानमन्त्री प्रचण्ड बागलुङको प्रशिद्ध धार्मिक स्थल पञ्चकोटमा । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
बागलुङ, फागुन १९ गते । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बागलुङको पञ्चकोटमा आउनुभएको छ । सर्वसिद्धिधाम पञ्चकोटमा जारी अनन्त श्री ब्रह्माण्डीय महायज्ञको एघारौँ दिन पञ्चकोटको अवलोकन तथा महायज्ञलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड बागलुङ आउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई बागलुङका जनप्रतिनिधि, कर्मचारी, महायज्ञका सङ्कल्पकर्ता मुक्तिनाथ पिठाधीश्वरस्वामी कमलनयनाचार्य लगायत स्थानीयवासीहरुले स्वागत गरेका छन् ।

प्रधानमन्त्रीले स्वामी कमलनयनाचार्यसँग कुटीमा तीनमिनेट विशेष भेटघाट, गण्डकीमाताको मन्दिर, हनुमानबाटीकामा  राखिएको मुक्तिनाथ महाघण्ट, हनुमानको मूर्ति र यज्ञमण्डपको अवलोकनसहित महायज्ञलाई सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको महायज्ञका प्रवक्ता सनातन प्रपन्नाचार्यले जानकारी दिनुभयो ।


पञ्चकोटको अवलोकन र महायज्ञलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड आएपछि आयोजकहरू उत्साहित भएका छन् । महायज्ञमा प्रधानमन्त्री प्रचण्ड नै आएपछि यहाँको प्रचारप्रसार र प्रवर्द्धनमा टेवा पुग्ने आशा गरिएको महायज्ञ आयोजक समितिका सदस्य समेत रहनुभएका बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।

पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महायज्ञमार्फत जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य राखिएको छ ।

पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गरेर मुलुककै मुख्य धार्मिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको आयोजकले जनाएका छन् । फागुन ९ गतेदेखि सुरु भएको महायज्ञ २३ गतेसम्म सञ्चालन हुनेछ ।


विभिन्न समयमा सञ्चालन भएका महायज्ञ, सरकारी निकाय र भक्तजनहरूको सहयोगबाट हालसम्म पञ्चकोटमा ५० करोड रुपियाँ बराबरको लगानीमा धार्मिक संरचनाहरू निर्माण भएका छन् । पञ्चकोटमा निर्माणाधीन धार्मिक संरचना पूरा गर्न करिब चार अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

यसपटकको ब्रह्माण्डीय महायज्ञबाट सङ्कलन भएको रकमबाट निर्माणाधीन विश्वशान्ति गण्डकी कलशलाई पूर्णता दिने कमलनयनाचार्यले जानकारी दिनुभयो । उक्त कलश निर्माण गर्न झन्डै एक अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।