• १२ साउन २०८१, शनिबार

‘युवालाई नेतृत्वदायी भूमिका प्रदान गर्न सरकार क्रियाशील’

blog

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू ।

काठमाडौँ, फागुन १९ गते । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले युवालाई रोजगारी सिर्जना गरी उद्यमशीलता, क्षमता र नेतृत्व विकासमा सरकारले जोड दिइएको बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद्को नवौँ स्थापना दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नवीन सोच र उद्यमशील युवालाई राज्यको समग्र क्षेत्रमा नेतृत्वदायी भूमिका प्रदान गर्न सरकार क्रियाशील रहेको बताउनुभयो । “मुलुकको कूल जनसङ्ख्याको ४२.५६ प्रतिशत हिस्सा युवाले ओगटेका छन् । युवालाई रोजगार सिर्जना गरी उद्यमशीलता, क्षमता र नेतृत्व विकासमा सरकारले जोड दिइरहेको छ,” मन्त्री लिम्बूले भन्नुभयो । 

युवाको सक्रिय सहभागितामा मुलुकको विकास र भविष्य निर्भर हुने भएकाले युवा सशक्तीकरणका लागि राष्ट्रिय युवा नीति अद्यावधिक गर्दै क्षमता विकास गरिने उहाँको भनाइ छ । मन्त्री लिम्बूले नवीन सोच, सुसंस्कृत, स्वरोजगार र आत्मनिर्भर युवा राष्ट्रनिर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै सरकारले चालू आर्थिक वर्षलाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षका रूपमा घोषणा गरेको जानकारी दिनुभयो । 

स्थापना दिवसका अवसरमा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले सन्देश दिँदै युवाको क्षमता, सीप, नेतृत्व र उद्यमशीलताको विकासमा जोड दिइएको बताउनुभयो । समृद्ध राष्ट्र निर्माणका स्वस्थ, कर्मठ र उद्यमी युवा तयार गर्नु आजको आवश्यकता रहेको उहाँको भनाइ छ । उपाध्यक्ष बस्नेतले युवाको सर्वाङ्गीण विकासका निमित्त नेपालको संविधान, दिगो विकासका लक्ष्य, विश्व मञ्चमा व्यक्त प्रतिबद्धता, योजना आयोगको प्रतिवेदन, राष्ट्रिय युवा नीति, यूथ भिजन २०२५ र १० वर्षे रणनीतिक योजनाले निर्दिष्ट गरेका मार्गचित्रका आधारमा दृढतापूर्वक अघि बढ्नुपर्ने बताउनुभयो । 

युवाको हकहित संरक्षण गरी उनीहरूलाई नीति निर्माणदेखि कार्यान्वयन तहसम्म संलग्न गराई राष्ट्रिय विकासको मूल प्रवाहमा समावेश गर्ने उद्देश्यले वि.सं.२०७२ फागुन १९ गते परिषद्को स्थापना भएको थियो । अहिले सातवटै प्रदेश र जिल्ला तहमा परिषद् गठन गरिएको छ । स्थापना दिवसका अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । रासस