• १२ साउन २०८१, शनिबार

देश वृद्धाश्रम बन्ने खतरा

blog

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ गोरखा पत्रकार समाज नेपालका पदाधिकारीहरूसँगको भेट गर्नुहुँदै । तस्बिर : गृहमन्त्री सचिवालय

काठमाडौं, फागुन १९ गते । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको बताउनुभयो । शनिबार गोरखा पत्रकार समाज नेपालका पदाधिकारीहरूसँगको भेटमा उहाँले भ्रष्टाचारविरुद्धको अभियानले निरन्तरता पाउने बताउनुभएको हो ।

राष्ट्रियताको विषयमा देश गम्भीर अवस्थामा रहेको भन्दै उहाँले व्यवस्थाविरुद्ध उठेका आवाजविरुद्ध सचेत हुन आवश्यक रहेको बताउनुभयो ।


व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा ठुलो भिन्नता आउन सकेको छैन । विकास निर्माणले अपेक्षित गति लिन नसकेकोले जनतामा निराशा छाएको छ उहाँले भन्नुभयो । सामाजिक न्यायको क्षेत्रमा काम गरेर जनताले त्यसको अनुभूत गर्ने गरी काम गर्नै पर्छ ।

युवाहरू बिदेसिने र उतै पलायन हुने क्रम बढेकाले देश वृद्धाश्रम बन्ने खतरा रहेको उल्लेख गर्दै उहाँले रेमिटेन्स आयो भनेर खुसी हुने अवस्था नरहेको जानकारी दिनुभयो ।

युवाहरूमा दुर्व्यसनीको सिकार हुने क्रम बढेकाले सरकारले अब देशैभर हरेक पालिकामा रिह्याब सेन्टर खोल्ने अभियान चलाउने तयारी गरेको उहाँले बताउनुभयो । शान्ति प्रक्रियालाई निष्कर्ष पुर्‍याउन सरकार प्रयत्नशील रहेको भन्दै श्रेष्ठले पीडितलाई न्याय हुने गरी नै टिआरसी विधेयक पास गरिने बताउनुभयो ।