• ११ मंसिर २०८१, मङ्गलबार

९१ वर्षीय प्रेमलाल उत्कृष्ट विद्यार्थी

blog

विद्यालयको ६३ औँ वार्षिकोत्सवका अवसरमा सम्मानित हुँदै प्रेमलाल डाँगी । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल
तुलसीपुर, फागुन १९ गते ।
 ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने भनाइलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का प्रेमलाल डाँगीले सत्य साबित गर्नुभएको छ । उमेरले नौ दशक पार गरिसकेका प्रेम २०८० साल वैशाखमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालय भ्यूडहर सोनपुरमा कक्षा एकमा भर्ना भई नियमितरुपमा कक्षामा पढ्न लेख्न आउनुहुन्छ । उहाँ अन्य विद्यार्थीजस्तै गुरु गुरुआमालाई  गृहकार्य समेत बुझाउनुहुन्छ ।

फागुन १८ गते शुक्रबारका दिन विद्यालयको ६३ औँ वार्षिकोत्सवका अवसरमा  अनुशासित र उत्कृष्ट विद्यार्थीकारुपमा  सम्मानित हुनुभएको छ । विद्यालयमा प्रधानाध्यापक टोपबहादुर घर्ती प्रेम नियमित कक्षामा आउने र पढ्न लेख्न निकै रुचि राख्ने गरेको बताउनुहुन्छ । घर्तीले  प्रेमलाल  नौ दशक पूरा गरेर पनि समाजमा प्रेरणाको स्रोतकारुपमा विद्यालयमा आउनु विद्यालयको गौरवको कुरा भएको बताउनुभयो । लठ्टीको सहारामा नियमित विद्यालयमा आउनुहुन्छ । उहाँका कोही साथी रुन्छन् त कोही रमाउँछन् त कोही उहाँसँगै पढ्छन्,खेल्छन् ती साथीहरूसँगै प्रेमलाले कुनै झर्कोफर्को नमान्दै पढ्नुहुन्छ ।

घर्तीलाई सम्मान गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले शिक्षा आर्जन गर्ने कुरालाई  उमेरका कारण लाज धक मान्ने कुरालाई प्रेमलालले अन्त्य गरेको बताउनुभयो । उहाँले समाजमा प्रेमलाल जस्तै विगतमा विद्यालय र सामाजिक अवस्थाका कारण पढ्न नपाउने कुराबाट वञ्चित भएका सबैले शिक्षालयमा पुगी अध्ययन गर्न सकिने बताउनुहुन्छ ।

शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले प्रेमलाल शिक्षण सिकाई कहिल्यै पूरा हुँदैन भन्ने यर्थाथलाई समाजमा बुझाउन सकिने बताउनुहुन्छ ।  प्रेमलाल आफूले नजानेका कुरा नाति नातिनाबाट सिक्ने गरेको बताउनुहुन्छ ।