• १३ जेठ २०८१, आइतबार

प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

दिवाकर पोख्रेल
देउखुरी,  फागुन १९ गते ।
 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशको प्रदेश सभालाई सम्बोधन गर्नुहुने भएको छ । शनिबार बस्ने लुम्बिनी प्रदेशको प्रदेश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी आउने कार्यक्रम तय भएको हो ।

प्रधानमन्त्रीले दिउँसो २ बजे बस्ने प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिनुभयो ।

प्रधानमन्त्री हेलिकोप्टरबाट देउखुरी उपत्यकामा अवतरण गरेर सिधै प्रदेश सभामा पुगेर सम्बोधन गर्ने र त्यसपछि अन्य विभिन्न कार्यक्रममा जाने तय भएको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले जानकारी दिनुभयो ।

थारुका अनुसार प्रधानमन्त्रीले लुम्बिनी प्रदेशका मन्त्रीहरू, सभामुखसँग छलफल गर्ने र त्यसपछि माओवादी केन्द्रले राप्ती गाउँपालिकामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउखुरी आउनुभएपछि देउखुरी उपत्यकाको सुरक्षा कडा पारिएको छ । प्रधानमन्त्री लुम्बिनी बौद्ध विश्व विद्यालयको कार्यालयको उद्घाटन गरेर प्रदेश सभामा सम्बोधन गर्ने आउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।