• १२ साउन २०८१, शनिबार

दादुरा–रुबेलाविरुद्धको खोप उत्साहप्रद

blog

काठमाडौँ, फागुन १९ गते । दादुरा–रुबेलाविरुद्धको खोप काठमाडौँ जिल्लाका एक लाख ९० हजार बालबालिकाले लगाएका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका प्रवक्ता डा. भुवन पौडेलले छ दिनमा एक लाख ९० हजार बालबालिकाले खोप लगाएको जानकारी दिनुभयो ।

काठमाडौँ महानगरको केही वडामा फागुन १६ गतेदेखि खोप अभियान सञ्चालनमा आएको हो । उहाँले बाँकी वडामा आइतबारदेखि सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँले खोप अभियान उत्साहप्रद ढङ्गले अगाडि बढेको भन्दै विद्यालयमा खोप केन्द्र राख्दा खोप लगाउने बालबालिका बढेको बताउनुभयो । उहाँले काठमाडौँमा लक्षित समूहको ३५ प्रतिशतले खोप लगाइसकेको जानकारी दिनुभयो । 

डा. पौडेलले काठमाडौँ जिल्लाको ११ पालिकामध्ये दक्षिणकाली नगरपालिकामा ७० प्रतिशत र शङ्करापुर नगरपालिकामा ६६.३८ प्रतिशत बालबालिकाले खोप लगाएको बताउनुभयो । काठमाडौँ महानगरभित्र दुई लाख ५० हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिने लक्ष्य रहेको छ । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले विश्व स्वास्थ्य सङ्गठनबाट मान्यताप्राप्त खोप भएकोले निर्धक्क खोप लगाउन आग्रह गर्नुभयो । 

काठमाडौँमा नौ महिना देखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई खोप दिइएको छ । काठमाडौँमा गत वर्ष कागेश्वरी र शङ्करापुरमा दादुरा पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय काठमाडौँले अभियानका लागि एक हजार ६७० खोप केन्द्र तोकेको छ । दुई हजार ४७३ स्वास्थ्यकर्मी खटिएका छन् । खोप अभियानमा तीन हजार एक सय महिला स्वास्थ्य स्वयंसेविका खटिएका छन् ।