• १४ जेठ २०८१, सोमबार

सेनाको हेलिकप्टरबाट सुत्केरीको उद्धार

blog

सुत्केरी महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिदै ।

नवराज श्रेष्ठ

रामेछाप, फागुन १८ गते । सुत्केरी हुन नसकेर छटपटाइरहेकी रामेछापको दोरम्बा शैलुङ गाउँपालिका –२ दोरम्बाकी ४१ वर्षीया सपना तामाङलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ लगिएको छ । 

सुत्केरी हुन नसकेर पीडामा परेकी तामाङलाई रामेछाप प्रदेश (ख) का सांसद युवराज चौलागाईँको विशेष पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि शुक्रवार काठमाडौँको प्रसूति गृहमा पठाइएको हो । 

समयमै सुत्केरी हुन नसकेर मरणासन्न अवस्थामा पुगेकी तामाङलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धारगरी थप उपचारका लागि काठमाडौँको प्रसूति गृह पठाइएको सांसद चौलागाईले बताउनुभयो । प्रसव पीडाले छटपटाइरहेकी तामाङको उद्धारका लागि आफूले बागमती प्रदेश सरकारको तर्फबाट निःशुल्क हेलिकप्टरको व्यवस्था गरिदिन बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेललाई आग्रह गरेपछि महिलाको उद्धार भएको उहाँले बताउनुभयो ।

उहाँले आफ्नो आग्रहलाई स्वीकार गरी निःशुल्क हेलिकप्टरको व्यवस्था गरेकोमा वागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल र प्रदेशको स्वास्थ्य मन्त्रालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।