• १२ साउन २०८१, शनिबार

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव सुरु

blog

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवका उद्घाटन गर्नुहुँदै मन्त्री सरोज थापा । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, फागुन १८ गते । लुम्बिनी प्रदेशका घरेलु तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवले कला, संस्कृतिको संरक्षण र विकाससँगै अन्तरदेशीय सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताउनुभएको छ । 

दाङको घोराहीमा सुरु भएको १२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री थापाले कला, संस्कृति देश चिनाउने गहना भएको र एकै थलोमा धेरै देशका कलाकर्मीहरु सहभागी भएर कार्यक्रम गर्दा स्थानीयस्तरमा रहेको कला संस्कृतिको अन्तर्राष्ट्रियकरणसँगै अन्तरदेशिय सम्बन्ध समेत प्रगाढ बन्न सहयोग पुग्ने बताउनुभयो । 

मन्त्री थापाले भन्नुभयो, "एकै थलोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कलाकारहरुले कला संस्कृति प्रस्तुत गर्दा स्वदेशी कला संस्कृति सिकाउने र विदेशी कला संस्कृति सिक्ने अवसर प्राप्त हुन्छ । यसले कला संस्कृतिको अन्तर्राष्ट्रियकरणमा सहयोगसँगै सम्वन्ध विस्तारमा पनि सहयोग गर्दछ ।" उहाँले दाङ कला संस्कृतिका दृष्टिले धनि भएको भन्दै मेलामहोत्सवका माध्यमबाट कला संस्कृतिको प्रवर्द्धनसँगै प्रचारमा ध्यान दिएर पर्यटन प्रर्वद्धनका लागि ध्यानदिनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, "कला संस्कृतिसँगै भाषा, भेषभुषाले धनी छौं, यसलाई पर्यटन प्रवद्र्धनमा लगाएर आर्थिक विकासमा लागौं ।" आर्थिक रुपमा कमजोर बनेको अर्थतन्त्रलाई माथि उकास्नका लागि मेला महोत्सवले सहयोगी भूमिका निर्वाह गर्ने भन्दै मन्त्री थापाले हरेक महोत्सवहरुमा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । 

एभरेष्ट नेपालको आयोजना तथा दाङ जिल्ला उद्योग बाणिज्य संघको स्थानीय आयोजनामा सुरु भएको लोक सांस्कृतिक महोत्सव फागुनको २१ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सवको उद्घाटन पूर्व घोराही बजारमा विभिन्न भेषभुषासहितको र्‍याली निकालिएको थियो ।  

ट्राफिक चोकबाट सुरुभएको र्‍याली बजारको विभिन्न भागको परिक्रममा गर्दै महोत्सवस्थल पुगेको थियो । अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा नेपालसहित १३ देशका तीन सय बढी कलाकारहरुले सास्कृतिक प्रस्तुत गर्ने कार्यक्रम रहेको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिनुभएको छ ।