• १२ साउन २०८१, शनिबार

यौन दुर्व्यहारको ९९ वटा आरोप खेपिरहेका जापानका मेयरद्वारा राजीनामा

blog

टोकियो, फागुन १८ गते । सामाजिक सञ्जालमा यौन उत्पीडनको ९९ वटा आरोप खेपिरहेका जापानी नगर प्रमुख (मेयर)ले शुक्रबार राजीनामा दिनुभएको छ । एक आधिकारिक अनुसन्धानले मध्य गिफु क्षेत्रको गिनान शहरका मेयर हिदेओ कोजिमामाथि सहकर्मीको स्तन र नितम्ब छुनेलगायत विभिन्न उत्पीडनका कार्यहरु गरेको आरोप लगाएको छ ।

पत्रकारका अगाडि आसु पुछ्दै आरोपले आफ्नो बदनाम भएको र आफ्ना भाइले हप्काएको बताएको एक दिनपछि बिहीबार ७४ वर्षीय कोजिमाले राजीनामा दिने बताउनुभएको हो । उहाँले एउटा स्वतन्त्र समितिको प्रतिवेदनमा उल्लेखित केही आरोपको खण्डन गर्नुभएको छ जसमा उहाँले महिला कर्मचारीलाई पनि पदीय मर्यादाविपरीत अङ्गालो हाल्ने गरेको आरोप पनि लगाइएको छ ।

“उहाँले टेलिभिजनसँगको सम्वादमा भन्नुभयो, “मैले त्यसो गरेको थिइनँ, मेरो हाउभाउ अँगालो हालेको जस्तो देखिन सक्छ, तर अँगालो हालेको होइन ।” “प्रतिवेदनमा तटस्थताको अभाव छ र म चाहन्छु कि उनीहरुले थप सावधानीपूर्वक अनुसन्धान गरुन्,” उहाँले भन्नुभयो । प्रसारक एनएचकेका अनुसार कोजिमाले सम्पूर्ण रिपोर्ट पढिनसकेको बताउनुभएको छ । 

रिपोर्टमा नगर प्रमुखले ‘आफ्नो ट्राउजर माथि सार्दै कर्मचारीलाई खुट्टा छुन भन्ने गरेको, केही कामदारहरुले छोएपछि कीटाणुनाशक स्प्रे प्रयोग गर्ने गरेको र अनुचित टिप्पणीहरु गर्ने र कर्मचारीहरुलाई झुक्न लगाउनेजस्ता कार्यहरु गर्ने गरेको’ आरोप लगाइएको छ । मङ्गलबार आफ्नो पद छोड्ने बताएका कोजिमाविरुद्ध सार्वजनिकरुपमा कुनै फौजदारी मुद्दा चलाइएको छैन । 

साप्ताहिक शुकान बुनशुन पत्रिकामा प्रकाशित समाचारपछि सुरु गरिएको अनुसन्धानमा मेयरले महिला कामदारको टाउकोमा पटक पटक छुने गरेको उल्लेख छ । कोजिमाले यसलाई ‘कृतज्ञता व्यक्त गर्न’ का लागि गरिएको कार्य बताउनुभएको छ । यो समाचार शुक्रबार सामाजिक सञ्जाल एक्समा ट्रेन्डिङमा परेको थियो । समाचारबारे धेरै प्रयोगकर्ताहरुले आक्रोश व्यक्त गरेका थिए ।

छानबिनका क्रममा समितिले कोजिमा नगरपालिकाका १९३ जना कामदारबीच सर्वेक्षणसमेत गरेको थियो । सर्वेक्षणमा सहभागी १६१ जनामध्ये ५३ प्रतिशत पुरुष र ५८ प्रतिशत महिलाले मेयरले आफूलाई असहज महसुस गराउने काम गरेको बताएका थिए । जापानमा विश्वव्यापी बनिसकेको ‘मिटू आन्दोलन’ले गति लिएको थिएन । यहाँ धेरै पीडितहरु अगाडि आउन निकै डराएका छन् तर पछिल्लो समय एकाध उच्च-ओहोदासँग सम्बन्धित मुद्दाहरु सार्वजनिक हुन थालेका छन् । रासस/एफपपी