कबिराज घिमिरे
हिले, फागुन १८ गते । धनकुटाको उत्तरपानीमा रहेका स्थानीय पोखरीको संरक्षण गर्न कोशी प्रदेशको आर्थिक मामिला तथा योजना राज्य मन्त्री इन्दीरा थापाले चासो देखाउनु भएको छ । उहाँले आज उत्तरपानीका स्थानीयसँग भेट गर्दै पोखरीको संरक्षणमा लाग्न आग्रह गर्नुभएको हो ।
मन्त्री थापाले स्थानीयले सुरुवात गरे आफूले पोखरी संरक्षण गर्न प्रदेश सरकारको तर्फबाट सकेसम्म पहल गर्ने बताउनुभयो । उहाँले पोखरी वरीपरी आधुनिक संरचना भन्दा पनि पाखरीलाई प्राकृतीक रुपमै संरक्षण गरि पर्यटनसँग जोड्न आग्रह गर्नुभयो ।
मन्त्री थापा पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रमुख कुलदिप यादव सहित मन्त्रालयका इन्जीनियर तथा पर्यटन कर्मीसँग धनकुटा पुग्नु भएको हो । प्रमुख यादवले भने सहित प्राकृतिक रुपमै सुन्दर रहेकोले पर्यटकिय स्थलको रुपमा विकास गर्न सकिने बताउनुभयो । त्यस्तै पर्यटनकर्मी तथा प्रदेश पर्यटन समितीका सभापती भबिस कुमार श्रेष्ठले भेडेटारसम्म पर्यटक आएपनि त्यस यता निक्कै कम आउने गरेकाले ति पर्यटक आउने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो । यता धनकुटा नगरपालिका वडा नम्बर दशका बडाध्यक्ष नगेन्द्र पाण्डेले पोखरीको संरक्षण गर्न प्रदेश सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
धनकुटाको धनकुटा नगरपालिका १० र पाख्रिवास नगरपालीकाको सिमानामा रहेको यो क्षेत्रमा एक दर्जन बढी पोखरी छन् । यी पोखरीको संरक्षण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको स्थानीयको गुनासो छ । २०४० सालमा ब्रिटिस सरकारले प्राविधिक शिक्षालय उत्तरपानी निर्माण गर्दा केहि पोखरीको समेत संरक्षण गरेको थियो । तर पनि शिक्षालय नेपाल सरकारलाई हस्तान्तरण गरेसँगै पोखरी समेत गुम्नाम बन्न पुगेका थिए ।