• १२ साउन २०८१, शनिबार

विकासको कामले सिंहदरबार तात्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो सङ्केत नभएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले नीति, कार्यक्रम र बजेटबिच तादात्म्य नमिल्दा परिणाम आउन नसकेको बताउनुभयो । उहाँले मन्त्रालयहरू तथा अन्य निकायले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो नभएको चर्चा गर्नुभयो । उहाँले यो स्थिति जटिल परिस्थितिको सङ्केत भएको बताउनुभयो । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बिचमा पनि एकले अर्कालाई प्रभाव पार्नेगरी नकारात्मक असर गरिरहेको चित्र देखिएको बताउनुभयो । 

उहाँले प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महसुस गरेमा त्यसको प्रभाव राजनीतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्ने बताउनुभयो । उहाँले अहिले एकले अर्कालाई कसरी ढाडस दिन र सहयोग गर्न सकिन्छ भन्ने चुनौती रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नीति, कार्यक्रम र बजेटबिच तादात्म्य नमिल्दा परिणाम आइरहेको छैन । मन्त्रालयहरू तथा अन्य निकायले निर्धारित वार्षिक लक्ष्य र सूचकहरूका अनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु पक्कै पनि सकारात्मक सन्देशको सङ्केत होइन । यो निकै नै जटिल परिस्थितिको सङ्केत हो । यसले हामी राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वबिचमा पनि एकले अर्कालाई प्रभाव पार्नेगरी नकारात्मक असर गरिरहेको चित्र देखिन्छ । प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महसुस गरेमा त्यसको प्रभाव राजनीतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्छ । राजनीतिक नेतृत्वमा कुनै किसिमको असहजता देखा पर्दा त्यसको प्रभाव प्रशासनमा पर्दछ । 

यो अन्तरबिरोधलाई पनि समयमै चिनेर त्यसलाई हल गर्ने उपाय खोज्नुपर्ने उहाँले चर्चा गर्नुभयो । त्यसमा दृढताकासाथ अघि बढ्नुपर्छ भन्नुभयो । ‘एकले अर्कालाई कसरी ढाडस दिन र सहयोग गर्न सकिन्छ भन्ने चुनौती छ । सिंहदरबारको स्थिति कस्तो छ भन्ने समीक्षा गर्दा सिंहदरबार त विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा त्यस्तो नभइरहेको अनुभूति हामीलाई भएको छ । कामकाजलाई नयाँ गति दिने सङ्कल्प गरिएको थियो तर एक दुई महिना बित्दा नबित्दै शिथिल हुन खोजेको छ’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सिंहदरबार विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा सेलाएको महसुस आफूले गरेको बताउनुभयो । उहाँले कामकाजलाई नयाँ गति दिन गरिएको सङ्कल्प पनि दुई महिना नबित्दै शिथिल भएको बताउनुभयो ।