काठमाडौं, फागुन १७ गते । राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले देशमा राजश्व सङ्कलन कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सदस्य शर्माले विकासका निम्ति छुट्याइएको विनियोजित बजेट खर्च नहुने समस्या विकराल बन्दै गएको बताउनु भयो । देश अहिले आक्रान्त रहेको बताउनुहुँदै उहाँले सरकारको ध्यान चाँडोभन्दा चाँडो यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘यो देशको विकास र समृद्धिसँग जोडिएका दुई ठुला समस्या छन् । एउटा यो देशमा राजश्व सङ्कलन नहुने र विकासका निम्ति छुट्याइएको विनियोजित बजेट खर्च नहुने दुई ठुला गम्भीर समस्याका कारण देश आक्रान्त छ । त्यसकारण यो समस्यको मुख्य चुरो कुरा के हो ? यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’’
उहाँले देशको विकास र समृद्धिसँग जोडिएका कुरालाई सरकारको आवश्यक चासो दिन नसकेको बताउनु भयो ।