• ११ मंसिर २०८१, मङ्गलबार

विद्युतीय ट्याक्सीप्रति आकर्षण

blog

काठमाडौँ, फागुन १७ गते । काठमाडौँ उपत्यकामा विद्युतीय ट्याक्सीप्रति व्यवसायीको आकर्षण बढेको छ । नयाँ ट्याक्सी खरिद गर्ने अधिकांश ट्याक्सी व्यवसायीले विद्युतीय ट्याक्सी खरिद गरेका छन् । दुई वर्षको अवधिका तीन सय विद्युतीय ट्याक्सी खरिद भएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले जनाएको छ ।

उपत्यकामा इन्धनबाट चल्ने ट्याक्सीको सङ्ख्या १२ हजार पाँच सय छ । समाजका महासचिव दिलीप श्रेष्ठले भन्नुभयो, “अब यो पुराना मारुती ट्याक्सीहरू बिस्तारै विस्थापित हुन्छन् र विद्युतीय ट्याक्सीले स्थान पाउने देखिन्छ । व्यवसायी र यात्रुहरू पनि विद्युतीय ट्याक्सीमै आकर्षित भएका छन् ।”

श्रेष्ठका अनुसार इनधनबाट चल्ने ट्याक्सीको तुलनामा विद्युतीय ट्याक्सी सबै हिसाबले उपयुक्त छ । उहाँले भन्नुभयो, “विद्युतीय ट्याक्सीमा करिब दुई सय रुपियाँको चार्ज गरेपछि उपत्यकामा दिनभरि जति गुडाए पनि हुन्छ । पेट्रोलबाट चल्ने हो भने कम्तीमा दुई हजार रुपियाँको तेल खर्च हुन्छ ।” वातावरणीय र ध्वनि प्रदूषण नहुने भएकाले विद्युतीय ट्याक्सी कोलाहल मुक्त रहेको उहाँको भनाइ छ ।

२० वर्ष पुराना ट्याक्सीहरूको सट्टा भर्नामा व्यवसायीहरूले विद्युतीय ट्याक्सी लिएका छन् । विद्युतीय ट्याक्सीको मूल्य ३६ लाख ९९ हजार रुपियाँ छ । सरकारले १० प्रतिशत भन्सार छुट दिएको छ । ट्याक्सीमा पाँच वर्षसम्म कम्पनीको ग्यारेन्टी रहेको श्रेष्ठले बताउनुभयो । किन्दा महँगो भए पनि दैनिक खर्चका हिसाबले निकै सस्तो पर्ने व्यवसायी नरेश विष्टले बताउनुभयो । 

काठमाडौँमा विद्युतीय ट्याक्सीको वृद्धि गर्न सट्टा भर्नालाई सहज बनाई कर छुटको व्यवस्था हुनुपर्ने महासचिव श्रेष्ठको भनाइ छ । 

उहाँले भन्नुभयो, “२० वर्षे पुराना गाडी पत्रु बनाउने व्यवस्थालाई वर्ष नतोकी सवारीको फिटनेसका आधारमा पत्रु बनाउनु पर्छ । विद्युतीय गाडीमा सरकारले अझ प्रोत्साहनको नीति लिनु पर्छ । वातावरणका हिसाबले काठमाडौँमा विद्युतीय गाडी नै अति उपयुक्त छ ।”