• १३ साउन २०८१, आइतबार

गोरखापत्र समाचार प्रभाव

फुर्दिकु शेर्पाको स्वास्थ्यमा सामान्य सुधार

blog

फुर्दिकु शेर्पाको स्वास्थ्य स्थितिबारे जानकारी लिइँदै । तस्विरः गोरखापत्र

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १६ गते । खोटाङ–दिक्तेल–रूपाकोट मझुवागढी नगरपालिका –१३, नुनथलाकी फुर्दिकु शेर्पाको स्वास्थ्य स्थितिमा सामान्य सुधार आएको छ । 

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले लगनखेलस्थित मानसिक अस्पतालमा उपचाररत शेर्पाको स्वास्थ्य स्थितिबारे बुझ्न जाँदा अस्पतालका निर्देशक डा. अनन्तप्रसाद अधिकारीले फुर्दिकु स्वास्थ्यमा सामान्य सुधार भएको बताउनुभयो । 

उहाँ आयोगका अध्यक्षलगायत भेटघाट गर्न आउने आफन्तसँग सामान्य बोलचाल गर्न सक्ने हुनुभएको छ । गोरखापत्र दैनिकमा आइतबार शेर्पाको मानसिक स्वास्थ्य अवस्थाका कारण घरको आँगनमा काठको बक्सामा थुनेर राखेको भन्ने समाचार छापिएपछि महिला आयोगले स्थानीय तहसँग समन्वय गरी शेर्पाको सोमवार उद्धार भएको थियो । 

अध्यक्ष पराजुलीले भन्नुभयो, “शेर्पाको अवस्थाबारे गोरखापत्र दैनिकमा समाचार हेरेपछि तत्काल खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख  तीर्थराज भट्टराई  र मानसिक अस्पतालका निर्देशक डा. अनन्तप्रसाद अधिकारीसँग सम्पर्क गरेँ । नगर प्रमुखले पनि शेर्पालाई राजधानीसम्म ल्याउने प्रबन्ध मिलाउनुभयो, र उहाँको उपचार सुरु भयो ।”

आयोगमा उजुरी, गुनासो लिएर आउने करिब ६० प्रतिशत महिला, किशोरीमा मानसिक समस्या देखिन्छ, आयोगमा आएका उजुरीकर्तालाई सबैभन्दा पहिले मनोपरामर्श सेवा नै उपलब्ध गराउनुपर्ने आवश्यकता बढ्दै गएको अनुभव सुनाउँदै  उहाँले वैदेशिक रोजगार, एकल परिवार, पारिवारिक बेमेलका मानसिक स्वास्थ्य बिग्रने अवस्था बढिरहेको बताउनुभयो । 

अध्यक्ष पराजुलीले फुर्किकुदो श्रीमानको मृत्यु भएपछि सानो बच्चासँग माइतीको शरणमा बस्नुपर्दा मानसिक स्वास्थ्य बिग्रेजस्तै अवस्था अन्यमा पनि रहेकाले मानसिक स्वास्थ्य समस्याबारे जनचेतना जगाउने, हरेक स्थानीय तहमा मानसिक स्वास्थ्य परामर्शदाताको नियुक्ति उपचारका लागि अस्पताल समेत हुनुपर्नेमा जोड दिनुभयो । 

सो अस्पतालका निर्देशक डा. अनन्तप्रसाद कोइरालाले पछिल्लो समय मानसिक स्वास्थ्यस्थिति खराब हुने दर बढिरहेकाले हरेक दिन २० जनाले आत्महत्या गरिरहेको बताउनुभयो ।

उहाँले मानसिक स्वास्थ्यको उपचारका लागि स्थानीय तह वा सरोकारवाला, जागरूक व्यक्ति र संस्थाले समन्वय मात्र गरे पुग्ने उपचार गर्ने जिम्मेवारी अस्पतालले नै लिने भएकाले मानसिक स्वास्थ्य बिग्रेको व्यक्तिप्रतिको रूढिवादी धारणा त्यागेर समयमै मनोपरामर्शदाता र अस्पतालसम्म पुगाउने जमर्को सबै सचेत नागरिकलाई गर्न आग्रह गर्नुभयो । 

निर्देशक डा. अधिकारीले  मानसिक अस्पतालमा बेड ६५ वटा मात्र रहेको, हाल बिरामीले बढेमा पाउनै मुस्किल रहेको जानकारी दिँदै सातै प्रदेशमा मानसिक स्वास्थ्यको उपचार हुने प्रदेशस्तरीय र बिस्तारै जिल्लास्तरीय अस्पतालको पनि स्थापना हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले मानसिक स्वास्थ्यको उपचार गर्ने अस्पतालको सङ्ख्या र बजेट पनि बढाउँदै लैजानुपर्ने बताउँदै मानसिक स्वास्थ्य सेवाबारे उपचार गर्ने करिब दुईसय ३५ जना मात्र विशेषज्ञता हासिल गरेका डाक्टर छन् भन्दै मानसिक स्वास्थ्यबारे  गलत धारणा, उनीहरूप्रति गर्ने व्यवहारमा परिवर्तन ल्याउनुपर्ने र समयमै उपचार भए रोग निको हुने विचार व्यक्त गर्नुभयो । 

फुर्दिकु शेर्पाका पिता पेमाछेतर शेर्पाले स्थानीय तह र आयोगको समन्वयले छोरीको स्वास्थ्य स्थितिमा सुधार हुँदैआएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले ज्वाइँको मुटु रोगको कारण निधन भएको र सानो बच्चासहित माइतीमै बस्दैआएको छोरीको मानसिक स्वास्थ्यस्थिति बिग्रेपछि जसलाई देखे पनि आक्रमण गर्ने तर आर्थिक अभावका कारण उपचार गर्न अस्पतालसम्म ल्याउन पनि नसकेपछि खोरमा राख्ने गरेको बताउनुभयो ।  

सो अवसरमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१3 वडा अध्यक्ष भवेश्वर राईले पनि फुर्दिकु शेर्पाको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको थियो ।