• १३ मंसिर २०८१, बिहिबार

देश बनाउन इमान्दारिता र सुशासन चाहिन्छ : अध्यक्ष ओली

blog

इनरुवामा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्नुहुँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । तस्विर: जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, फागुन १६ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि इमान्दारिता र सुशासन आवश्यक रहेको बताउनुभएको छ । बुधबार सुनसरीको इनरुवामा एमालेको कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

लोकतन्त्रको अनुभूति हुनेगरी सरकारले काम गर्न नसकेका कारणले जनतामा निराशा छाएकोतर्फ सङ्केत गर्नुहुँदै अध्यक्ष ओलीले देश विकासका लागि सरकारमा इमान्दारिता र सुशासन आवश्यक रहेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले एमालेको एकल बहुमतको सरकार नबनेसम्म देशको विकास सम्भव नहुने दाबी गर्नुभयो । देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमत सरकार आवश्यक रहेको ओलीको दाबी छ । ओलीले एमालेको एकल सरकार नबने देशको राष्ट्रियता कमजोर हुने चर्चा गर्नुभयो ।

उहाँले पार्टीभित्र समन्वय र अरू पार्टीसँग प्रतिस्पर्धा गर्दै अगाडि बढ्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘एमालेको एकल बहुमतको सरकार नबने देशको राष्ट्रियता कमजोर हुन्छ, देशको स्वाधीनता अर्थहीन भएर गएको छ, त्यो झन् कमजोर हुन्छ, स्वतन्त्रता कमजोर हुन्छ, युवाहरू विदेश पलायन हुन्छन् ।  देशमा विकास हुँदैन, महँगी बढ्दै जान्छ’ उहाँले भन्नुभयो । 

सरकारलाई खरानीको डल्लाको संज्ञा दिनुहुँदै अध्यक्ष ओलीले पानी दिँदा पनि फुट्ने र सुख्खा हुँदा पनि फुट्ने भएकाले यो सरकार जति बेला पनि ढल्न सक्ने दाबी गर्नुभयो । उहाँले यो सरकार ढलेमा कोही कसै दलसँग मिलेर सरकार बनाउने कुरा भएमा त्यसलाई अन्यथा नलिन नेता कार्यकर्तालाई जानकारी गराउनुभयो । 

एउटा चुनावदेखि अर्को चुनावसम्मका लागि मात्र एमाले पार्टी नभएकाले देशको पार्टी भएको दाबी गर्नुभयो । उहाँले देशको पार्टी भएकाले आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गर्नुभयो । एमालेको सरकार हुँदा सडक, शिक्षा, स्वास्थ्य, सञ्चार, विधुतसहित विभिन्न विकासका योजना अघि बढेको उहाँको दाबी छ ।

एमाले नेतृत्वको सरकार ढलेपछि राजनीतिक रूपमा देशमा अस्थिरता छाएको, अराजकता बढेको, अनेक प्रकारका खराबीहरू भित्रिएको, अर्थतन्त्र चौपट भएको, गरिबी बढेको, महँगी बढेको, युवाहरूले रोजगारी नपाएको, विकास ठप्प प्रायः भएको, भ्रष्टाचार बढेको दाबी गर्नुभयो ।  उहाँले स्थानीय स्तरको समस्या र सम्भावनालाई गहिरो गरी बुझ्ने काम भएको र सोहीअनुसार आगामी दिनमा पार्टीले नीति बनाउने विश्वास दिलाउनुभयो ।