• १२ साउन २०८१, शनिबार

सेवा प्रभावकारी बनाउन प्रविधिको प्रयोग आवश्यक : मुख्यमन्त्री

blog

नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल । तस्विरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, फागुन १६ गते । बागमती प्रदेश सरकारको सहयोगमा हेटौँडामा नवनिर्मित दुई वटा प्रहरी भवनको उद्घाटन गरिएको छ । आन्तरिक मामिला तथा योजना मन्त्रालयमार्फत निर्माण गरिएको बागमती प्रदेश विपत् व्यवस्थापन गुल्म हेटौँडा र वडा प्रहरी कार्यालय हेटौँडाको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बुधबार उद्घाटन गर्नुभएको हो । 

प्रहरी भवनको उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रहरी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन प्रविधिको प्रयोग आवश्यक भएको बताउनुभयो । उहाँले बदलिँदो समयअनुसार समाजमा हुने घटनाको अनुसन्धान लगायतका कार्यमा  मानवीय शक्ति मात्रले पर्याप्त नहुने भन्दै नयाँ–नयाँ प्रविधिको प्रयोग गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभयो । 

आफू आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा प्रहरी कार्यालयको भ्रमणको क्रममा प्रहरी कठिन अवस्थामा बसेको देखेपछि प्रहरी भवन बनाउन बजेट व्यवस्था गर्न सुरु गरिएको हो, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, ‘समस्याबिच प्रहरी भवन निर्माण भएको छ, प्रहरी भवन निर्माणको काम प्रदेश सरकारको देखिने काम बनेको छ ।’

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले नेपाल प्रहरीले जीर्ण र आधारभूत सुविधा नभएका भवनबाट सेवा दिँदा त्यो सेवा राम्रा नहुने बताउँदै नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न प्रदेशले प्रहरीका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गरेको बताउनुभयो । 

उहाँले प्रहरीलाई नागरिकको साथीको रूपमा सेवा प्रदान गर्न आग्रह गर्दै सेवा प्रवाहमा सकारात्मक विभेद आवश्यक भएको बताउनुभयो । कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव गैँडा, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विष्णुकुमार केसी र प्रहरी उपरीक्षक इन्जिनियर ईश्वर थापाले नवनिर्मित भवनका बारेमा जानकारी गराउनुभयो । 

हेटौँडा –४ मा नवनिर्मित वडा प्रहरी कार्यालय तीन करोड ९० लाख ३१ हजार ३३८ रुपियाँको लागतमा र हेटौँडा –११ स्थित बागमती प्रदेश विपत् व्यवस्थापन गुल्म तीन करोड २८ लाख १२ हजार ५८ रुपियाँको लागतमा निर्माण गरिएको हो ।