• १२ मंसिर २०८१, बुधबार

विवाहको निमन्त्रणा कार्डमा बेहुला बेहुलीको जन्ममिति अनिवार्य

blog

आठबिसकोट नगरपालिका वडा नम्बर-३ को कार्यालय ।

राजु लामिछाने

रुकुमपश्चिम, फागुन १६ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका-३ ले विवाहमा दिइने निमन्त्रणा कार्डमा बेहुला-बेहुलीको जन्ममिति अनिवार्य रुपमा लेख्नुपर्ने नियम बनाएको छ। वडा कार्यालयले बाल विवाहविरुद्धको कानुन कार्यान्वयनको क्रममा यस्तो कार्य गर्न थालेको सूचनामार्फत जानकारी गराएको हो । 

वडाध्यक्ष केशरमान विकले वडा क्षेत्रमा हुने विवाहको निमन्त्रणा पत्रलाई बाल विवाह, मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि प्रयोग गर्न थालिएको जानकारी दिनुभयो । उहाँले विवाहमा निमन्त्रणा गरिने कार्डमा अनिवार्य रूपमा बेहुला बेहुलीको जन्मदर्ता उल्लेख गरिनुपर्ने बताउनुभयो । यसका साथै निमन्त्रणा कार्डमा नै विवाह गर्ने घरमा मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने, नगराउने प्रतिबद्धतासमेत उल्लेख हुनुपर्ने वडाध्यक्ष विकले जनाउनुभयो ।  

यस वडामा मदिरा र सुर्तीजन्य पदार्थ निषेध गरिएको छ । वडा अध्यक्ष विकले २०७५ मङ्सिर २५ गतेदेखि वडामा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको र २०७९ मङ्सिर ५ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवनमा रोक लगाइएको जानकारी दिनुभयो ।  

वडा सरकार बाल विवाहविरुद्धको कानुनी व्यवस्था कार्यान्वयनतर्फ कडाइका साथ लागेको र यसका लागि विवाहको निमन्त्रणा कार्डलाई पनि उपयोग गर्न खोजिएको वडाध्यक्ष विकको भनाइ छ । विवाहको कार्डमा नै यस्तो खबर पठाइएमा बाल विवाह नियन्त्रण हुने र सार्वजनिक स्थान तथा समारोहमा मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोग बन्द हुने वडा कार्यालयको विश्वास छ । यसअघि वडाले बाल विवाहविरुद्ध अन्तरक्रिया, सचेतना र गाउँमा हुने केही बाल विवाहलाई रोक्ने काम गरेको छ । 

पाँच सय मिटर क्षेत्रभित्र मदिरा निषेध

यसैगरी आठबिसकोट नगरपालिका-१४ ले पनि मदिराजन्य पदार्थ नियन्त्रणमा लागेको जनाएको छ । वडाध्यक्ष प्रेम पुनका अनुसार वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्थालगायतका सार्वजनिक क्षेत्र वरिपरि मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ । 

उहाँले सार्वजनिक क्षेत्रको पाँच सय मिटर क्षेत्रभित्र मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको जनाउनुभयो । यस सूचनाको बेवास्ता गरिएमा नगरपालिकाको मदिरा नियन्त्रणसम्बन्धी कार्यविधि, २०७५ अनुसार कारबाही हुनेसमेत वडा कार्यालयले जनाएको छ । सार्वजनिक क्षेत्रमा मदिरा सेवनका कारण होहल्ला हुने गरेको, शान्ति सुरक्षामा खलल पार्ने गतिविधि हुने गरेकोले वडाले यस्तो निर्णय गरेको हो ।