सन्तोष सुवेदी
कास्की, फागुन १६ गते । गण्डकी प्रदेशसभाको अधिवेशन बुधबार दिउँसो २ बजेबाट सुरु हुँदै छ । गण्डकीको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन ६ गते अधिवेशन आह्वान गर्नुभएको थियो ।
प्रदेश सभाले यसअघि नै दर्ता भइसकेका दुई वटा विधेयकमाथि छलफल गरी पारित गर्नेछ । प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुनेछ । यी दुवै विधेयक संसदीय समितिबाट पास भइसकेका छन् । यी विधेयक बुधबार सदनमा प्रतिवेदनसहित पेश गर्ने र दफाबार छलफलपछि पारित हुनेछन् ।
यसअघि पास भइसकेका ६७ वटा विधेयकमध्ये अघिल्लो पटकको सदनले ६ विधेयक पास गरेको थियो । तीमध्ये गण्डकी प्रदेशभित्रको वनलाई नियमन गर्न बनेको विधेयक, प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक हुन् ।