गाजापट्टी (प्यालेस्टिनी अधीनस्थ क्षेत्र), फागुन १५ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबिच नयाँ युद्धविराम सुरु हुनसक्ने बताउनुभएको छ । उक्त सम्झौतामा कैयौँ सय प्यालेस्टिनी बन्दीको बदलामा गाजामा राखिएका दर्जनौँ बन्धकहरूलाई मुक्त गर्न सकिनेछ ।
युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिका, फ्रान्स र अन्यले इजरायल र हमासबिच मध्यस्थका रूपमा काम गरिरहेका छन् र वार्ता जारी छ । उनीहरूले छ साताका लागि युद्ध रोक्न र गाजामा हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणले युद्ध सुरु भएपछि बन्दी बनाइएका इजरायली बन्दीहरूको रिहाइको माग गरिरहेका छन् ।
सञ्चारमाध्यमका अनुसार उक्त सम्झौतामा इजरायलले हिरासतमा लिएका कैयौँ सय प्यालेस्टिनी बन्दीहरूको रिहाइ पनि सामेल हुन सक्नेछ ।
सम्झौता कहिले सुरु हुन सक्छ भनी सोधिएको प्रश्नमा बाइडेनले भन्नुभयो, “अर्को सोमबारसम्ममा युद्धविराम हुनेछ भन्ने मलाई आशा छ, हामी यसको नजिक छौँ, हामीले अहिलेसम्म काम पूरा गरेका छैनौँ ।”
एक अज्ञात इजरायली अधिकारीले समाचार साइट येनेटलाई ‘दिशा सकारात्मक’ रहेको बताएका छन् ।
फ्रान्सेली राष्ट्रपतिका अनुसार कतारका अमिर शेख तमिम बिन हमद अल–थानी मङ्गलबार पेरिस आउँदै हुनुहुन्छ । कतारले हमासका नेताहरूलाई आतिथ्य प्रदान गर्दछ र उसले नोभेम्बरमा एक साताको युद्धविराममा सहयोग गरेको थियो ।
कतारका शासकले साँझ ४ बजे (१५०० जिएमटी) एलिसी प्यालेसमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग भेट्ने कार्यक्रम रहेको र त्यसपछि राजकीय रात्रिभोज हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
आधिकारिक कतार समाचार एजेन्सीका अनुसार शेख तमिमले पहिला दोहामा हमास प्रमुख इस्माइल हानियेहसँग भेट गर्नुभयो र ‘तत्काल र स्थायी युद्धविराम सम्झौतामा पुग्ने उद्देश्यले’ प्रयासहरूबारे छलफल गर्नुभएको थियो ।
कुनै पनि युद्धविराम सम्झौताले गाजापट्टीको सुदूर दक्षिणमा रफाहमा स्थल आक्रमणमा ढिलाइ गर्ने इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बताउनुभएको छ । यसलाई उहाँले हमासमाथि ‘पूर्ण जित’ हासिल गर्नका लागि आवश्यक रहेको बताउनुभएको थियो ।
युद्धको करिब पाँच महिनापछि गाजापट्टीका प्रत्येक अन्य सहरी क्षेत्रमा इजरायली स्थल सेना सक्रिय भएका कारण करिब १४ लाख प्यालेस्टिनीले रफाहमा शरण मागेका छन् ।
सेनाले इजरायलको युद्ध क्याबिनेटलाई रफाहबाट नागरिकहरूलाई निकाल्ने आफ्नो योजना देखाएको नेतान्याहुको कार्यालयले सोमबार बताएको थियो । यद्यपि ती विस्थापित नागरिक कहाँ जान सक्छन् भन्नेबारेमा कुनै विवरण जारी गरिएको छैन ।
संयुक्त राष्ट्रसङ्घले रफाहमा कुनै पनि स्थल आक्रमणविरुद्ध बारम्बार चेतावनी दिएको छ । सोमबार महासचिव एन्टोनियो गुटेरेसले आक्रमणले सहायता कामको ‘कफिनमा अन्तिम किला ठोक्ने’ चेतावनी दिनुभएको थियो ।
रफाहले छिमेकी इजिप्टमार्फत अत्यावश्यक सहायताका लागि महत्त्वपूर्ण प्रवेश बिन्दुको रूपमा काम गर्दछ । यसलाई गुटेरेसले गाजापट्टीका लागि ‘मानवीय सहायता अभियानको मूल’ बनाउने बताउनुभएको छ ।
“नागरिकहरूको हत्या गर्ने, घाइते बनाउने, यातना दिने र अपहरण गर्ने हमासको नियतवश कार्यलाई औचित्यपूर्ण भन्न सकिँदैन र प्यालेस्टिनी जनताको सामूहिक सजायलाई कसैले पनि उचित ठहर गर्न सक्तैन”, गुटेरेसले भन्नुभयो ।
कुनै पनि स्थलगत घुसपैठअघि रफाह पनि इजरायलको हवाई आक्रमणबाट अछूतो बनेको छैन । विस्थापित गाजाबासी शरिफ मुअम्मरले सहरमा यस्तै एउटा आक्रमणपछि उहाँको छोराको शवलाई भग्नावशेषबाट निकालिएको बताउनुभयो । “यहाँ कोही थिएनन्, बालबालिकामात्र थिए”, उहाँले रुँदै भन्नुभयो ।
नेतान्याहुले गाजामा अहिले पनि बन्दी बनाइएका बन्धकहरूको भाग्य र सरकारविरोधी आन्दोलनबाट बढ्दो सार्वजनिक दबाबको सामना गर्नुपरिरहेको छ । युद्धका कारण इजरायलमा दुई पटक ढिलाइ भएको नगरपालिका निर्वाचन मङ्गलबार हुँदैछ । निर्वाचनले हमासविरुद्ध इजरायलको करिब पाँच महिनाको युद्धमा जनताको मनस्थिति अनुमान लगाउन सकिन्छ । रासस/एएफपी
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                