• १३ मंसिर २०८१, बिहिबार

छ दिनदेखि टोड्कामा बसेर तपस्या

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, फागुन १५ गते । मोरङको मिक्लाजुङ–४, हात्तीमारा सिरानका २३ वर्षीय रोहित तामाङ फागुन ९ देखि एउटा रुखको टोड्कामा ध्यान गरेर बसिरहनुभएको छ । घरबाट पूर्वोत्तरमा रहेको विशाल मैनाको रुखमुनि उहाँ ध्यानमग्न हुनुहुन्छ । रुखको तल्लो भागमा आगो लागेर ठुलो टोड्को परेको छ । त्यही टोड्काभित्र गौतम बुद्धको तस्बिर राखेर उहाँ तपस्यामा हुनुहुन्छ । रोहितका साथी निशान राईका अनुसार शनिबार बिहान ६ बजे स्थानीय पुग्दा रोहित ध्यानमा हुनुहुन्थ्यो । ११ बजे सञ्चारकर्मीको टोली पुग्दा पनि उहाँ स्थिर रूपमा ध्यानमा मग्न भेटिनुभयो । 

घरमा भाइसँग बस्दै आउनुभएका रोहितकी आमाले दोस्रो विवाह गर्नुभएको छ भने बाबु लोकबहादुर कान्छी लिएर बस्नुभएको छ । अविवाहित रोहितले कक्षा १० सम्म अध्ययन गर्नुभएको छ । रोहितले गत माघ १० देखि एकाएक आफूलाई अध्यात्ममा लगाएको उहाँका भाइ लबिन तामाङले बताउनुभयो । भाइ लबिनका अनुसार रोहितले माघ १० देखि आफन्त, साथीभाइ सबैलाई तपाईं भन्न थाल्नुभयो । कोहीसँग ठट्टा नगर्ने, धेरै नबोल्ने, चाहिएको मात्र बोल्न थाल्नुभएका उहाँले बौद्ध धर्मको अनुयायी बनेर २७ औँ धर्मकुण्डली सफाइ गर्ने भन्दै ध्यान सुरु गरेको भाइ लबिनले बताउनुभयो । स्थानीय छिमेकी र आफन्तसमेत उहाँको दिनचर्या परिवर्तन भएको देखेपछि चकित भएका छन् ।

मिक्लाजुङ–४ का वडाध्यक्ष विशाल राईले रोहितको दिनचर्या एकाएक परिवर्तन भएपछि समाज नै चकित परेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले पनि उनी औसत मानिस जस्तै नियमित काम गर्ने, खाने गर्थे । उनमा कुनै मानसिक समस्या थिएन । शुक्रबार बेलुकीपख मैनाको विशाल रुखका हाँगा हाँगामा केही पनि नसमाइकन हिँडेको देखेपछि हामी पनि अचम्मित भएका छौँ । त्यो रुखमा चढ्न नै गाह्रो छ । चढेर हाँगा हाँगामा हिँड्न झन् गाह्रो छ । जादुगर जसरी हिँडेको देखेपछि हामी पनि चकित भएका छौँ ।” स्थानीयका अनुसार रोहितले फलफूलबाहेक केही खानुभएको छैन । रुखका हाँगा हाँगामा कुदिरहँदा लड्लान् कि भन्ने चिन्ता थपिएको स्थानीय रेखा राईले बताउनुभयो ।