• १४ मंसिर २०८१, शुक्रबार

भिखोकमा तीन महिनामै पुल तयार

blog

तानसेन समाचारदाता

तानसेन, फागुन १५ गते । पाल्पा जिल्लाको भिखोक खोलामा तीन महिनामै पक्की पुल तयार भएको छ । माथागढी–१, चिदीपानी र रम्भा–४, हुमिन जोड्ने भिखोक खोलामा पक्की पुल तयार भएको हो । 

लुम्बिनी प्रदेश सरकारको ६० लाख रुपियाँ लगानीमा पुल बनेको छ । पुल बनेपछि माथागढी, रम्भा, पूर्वखोलालगायतका बासिन्दालाई यात्रा गर्न सहज हुने छ । योजना सम्झौता भएको तीन महिनामै पुल निर्माण सम्पन्न भएको माथागढी–१ का वडाध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । यस क्षेत्रका नागरिकलाई हिउँद र बर्सातको समयमा हिँडडुल गर्न सहज हुने वडाध्यक्ष पन्थीले बताउनुभयो । 

पुल नहुँदा बर्सातको समयमा विद्यार्थी तथा किसान जोखिम मोलेर यात्रा गर्न बाध्य थिए । उहाँले भन्नुभयो, “पुल नहुँदा बर्सातमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो, अब यात्रा सहज हुने भयो ।” पुल बनेपछि माथागढीको चारघरे, हुमिन, बाँडेकोट, चर्चरे, सराईसम्म जानआउन सहज भएको छ । १० मिटर लम्बाइ र सात मिटर चौडाइ रहेको पुलमा साना तथा ठुला सवारीसाधन चल्न सक्ने छन् ।  यसैबिच बेलगैरामा पनि पक्की पुल बन्ने भएको छ । लामो समयदेखि पुलको माग गर्दै आएका तानसेन–७ र तानसेन–१० का बासिन्दालाई पुल बन्ने भएपछि सहज हुने अपेक्षा गरिएको छ ।