• १२ साउन २०८१, शनिबार

आरबिबी एनभिए भलिबल चैतमा

blog

सम्झौता आदान प्रदान गरिँदै ।

काठमाडौँ, फागुन १४ गते । आठौँ आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप चैत ३ देखि १० गतेसम्म हुने भएको छ । 

राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) को कभर्डहलमा हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलामा नौ टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल भलिबल सङ्घले जानकारी दिएको हो ।

च्याम्पियनसिपको मुख्य प्रायोजनसम्बन्धी सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैङ्क (आरबिबी) का कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठ र सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले हस्ताक्षर गर्नुभयो । प्रयोजनस्वरुप बैङ्कले सङ्घलाई १८ लाख रुपियाँ उपलब्ध गराउनेछ ।

च्याम्पियनसिपमा महिला र पुरुष दुवैतर्फका विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ४० हजार तथा उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ ।

यस च्याम्पियनसिपबाट पुरुषतर्फ आठ र महिलातर्फ शीर्ष ६ टोली एनभिए लिगका लागि छनोट हुनेछन् ।