• १२ साउन २०८१, शनिबार

'प्राविधिक शिक्षालयहरूलाई बलियो बनाउनुपर्छ'

blog

दमकमा सामाजिक विकास मन्त्री कार्की ।

विष्णुप्रसाद पोखरेल

दमक, फागुन १४ गते । कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले रोजगारमूलक प्राविधिक शिक्षा प्रदान गर्नका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ । प्राविधिक शिक्षालयहरूलाई बलियो बनाउँदै हरेक तवरले सुविधा सम्पन्न बनाउन लाग्नु पर्नेमा उहाँले जोड दिनुभएको हो ।

पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठान बहुप्राविधक शिक्षालय दमकको निरीक्षणमा सोमबार आउनुभएका मन्त्री कार्कीले यस प्रकारका शिक्षालयहरूले स्थानीय स्तरमा रोजगार सिर्जना गर्नका लागि भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो । "प्राविधिक जनशक्ति उत्पादनसँगै उनीहरूलाई रोजगारमा जोड्न पनि भूमिका खेल्नु पर्छ", उहाँले भन्नुभयो । 

यस शिक्षालयमा प्रदेश सरकारको विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको छ । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष तीर्थराज बस्नेतले स्थानीय आवश्यकता र मागको आधारमा दक्ष जनशक्ति उत्पादनमा आफूहरूले जोड दिँदै त्यसै अनुसारको शिक्षामा हुनुपर्ने बताउनुभएको थियो । "तालिम तथा प्राविधिक शिक्षा लिइसक्नसाथ रोजगारको अवसरहरू पनि दिलाउनका लागि हामी पनि लाग्ने गरेका छौँ", उहाँले भन्नुभयो ।

पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठान तत्कालीन नेकपा (माओवादी) द्वारा सञ्चालित दस वर्षे जनयुद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिएका झापा दमकका सहोदर दाजुभाइ पुष्पराज बस्नेत र धिरेन्द्र बस्नेतको नाममा स्थापित संस्था हो । दमक–१ का २६ वर्षीय पुष्पराज बस्नेत र २० वर्षीय धिरेन्द्र बस्नेत वि.सं. २०६० सालदेखि बेपत्ता छन् ।