• १२ साउन २०८१, शनिबार

तीन दिने साहित्य महोत्सव सुरु

blog

कलाकार निरविक्रम शाह कलाकार हिम्मत नेम्बाङ्गको चित्रकला तथा मूर्तिकला अवलोकन गर्नुहुँदै । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का 

बिर्तामोड, फागुन १४ गते । झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा प्रथम कनकाई कला संस्कृति तथा साहित्य महोत्सव सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त कला महोत्सवको उद्घाटन वरिष्ठ कलाकार निरविक्रम शाहले गर्नुभएको हो । 

रोटरी क्लब अफ कनकाई सुरुङ्गाको आयोजनामा भइरहेको यस कला संस्कृति महोत्सवमा स्थानीयदेखि राष्ट्रिय साहित्यकारहरूले आफ्नो रचना वाचन गर्नेदेखि लिएर कलाकार हिम्मत नेम्बाङ्ग र प्राज्ञ पवन राजवंशीको एकल चित्र तथा मूर्तिकला प्रदर्शनीका साथमा साहित्यकारहरू तुलसी दिवस, अर्जुन पराजुली, प्रा.डा. रामप्रसाद ज्ञवाली, देवी नेपाल, मनु मञ्जिल, धीरेन्द्र प्रेमर्षि, प्रदीप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, शिशिर योगीका साथमा कलाकारहरू मनोज गजुरेल र रचना रिमालबाट गीत तथा कविता लगायतका प्रस्तुतिहरू रहने आयोजक समितिका अध्यक्ष शिव कँडेलले बताउनुभयो । 

साहित्य तथा साङ्गीतिक प्रस्तुति र श्रवणका लागि झापा तथा छिमेकी जिल्ला र काठमाडौँबाट समेत सर्जक र श्रोताहरू आउने र यस कार्यक्रमलाई हरेक तीन वर्षमा नियमित गरिने आयोजक समितिका संयोजक अखिल कोइरालाले बताउनुभयो । 

साहित्य महोत्सवको उद्घाटन गर्नुहुँदै कलाकार निरविक्रम शाहले मानवजातिको उत्थान र प्रवर्द्धनमा मानवअधिकारकै रूपमा कला संस्कृतिको समेत बराबरी महत्त्व हुने भन्दै यस्ता कला महोत्सवबाट मानव जीवनले उत्प्रेरणा प्राप्त गर्ने बताउनुभयो । 

कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया, समाजसेवी शेरबहादुर थापा लगायतले कला विना मानव जीवनको महत्त्व अन्धकार हुने भन्दै कलालाई मानवजीवनसग जोड्नुपर्नेमा जोड दिनुभयो ।