• १२ साउन २०८१, शनिबार

नगरपालिकामा विवाद, वडाध्यक्षद्वारा तालाबन्दी

blog

देवदह नगरपालिकामा तालाबन्दी गर्न पुगेका जनप्रतिनिधि । तस्बिरः कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, फागुन १४ गते । रुपन्देहीको देवदह नगरपालिकामा तनाव उत्पन्न भएको छ । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्षहरूले तालाबन्दी गरेका छन् । 

नेपाली कांग्रेस र राप्रपाका जनप्रतिनिधिहरूले नगर प्रमुख ध्रुवप्रसाद खरेल र प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

आज कार्यालय खुल्ने समय पारेर तालाबन्दी गर्न पुगेका कांग्रेस र राप्रपाका जनप्रतिनिधिसहितको कार्यकर्तासँग सुरक्षाकर्मीबिच घम्साघम्सी चलेको थियो । नगर प्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउने प्रयास गर्दा सुरक्षाकर्मीले छेक्ने प्रयासपछि दुवै पक्षबिच झडपको अवस्था सिर्जना भएको छ ।

पुस १७ गतेको कार्यपालिका बैठकमा प्रस्तावित विषयमाथि सहमति नजुटेपछि १२ वडाका वडाध्यक्षमध्ये ७ वटा वडाका वडाध्यक्ष र एक जना कार्यपालिका सदस्यसहित ५ जना कार्यपालिका सदस्यले कार्यपालिका बैठकमा नोट अफ डिसेन्ट लेखेको बताइएको छ ।

देवदहमा पुस १७ यता कांग्रेस र राप्रपाका जनप्रतिनिधिले एकपक्षीय निर्णयमा सहभागी नहुने र नगरप्रमुख ध्रुव खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा सहभागी हुने नगरपालिका कार्यक्रमहरू बहिष्कार तथा कार्यपालिका बैठक बहिष्कार गर्ने दबाबमूलक अभियान गरिरहेको उहाँहरूको भनाइ छ । 

विज्ञप्तिमा नगर प्रमुख कोष देखि आफ्नो कुल मन्दिरमा रकम विनियोजन गरी वडा ९ को कार्यालयको सिफारिसबिना रकम निकासा गरिएको, वडा ८ मा नदिजन्य पदार्थ चोरी तस्करी गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले ट्याक्टर, जेसिभी पक्राउ गरी खैरेनी चौकीलाई बुझाइ देवदह नगरपालिकालाई कारबाहीको लागि पठाएको पत्र नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत मिलेमतोमा विनाराजश्व छाडिएको आरोप लगाइएको छ ।

नगरपालिका पुग्ने वडा अध्यक्षमा एकबहादुर सुनार, वडा १० का पजप्रसाद अर्याल, वडा नं ३ का मोहनबहादुर जिसि, वडा ९ का हेगबहादुर सारू, वडा १२ का दीपक नेपाल, वडा ६, दमननाथ रेग्मी, वडा ४, दूध नाथ यादव, वडा नं ११ रहेका छन् । 

त्यसैगरी बोमबहादुर परियार, कार्यपालिका सदस्य, अमर लामिछाने नगर सभा सदस्य, बम कुमारी थापा, नगर सभा सदस्य, अम्रिकाप्रसाद चौधरी, नगर सभा सदस्य र मेघनाथ न्यौपाने, तथा नगर सभा सदस्य दुलप्रसाद चौधरी, रेनुका आले मगर, बाल मोहन यादव, आविद्ध अलि, असरुन निशा, लक्ष्मी देवी विक, मङ्गल चौधरी, कृष्ण माया राना, बमकान्त गौडेल र होस राज न्यौपाने पनि ताला लगाउन नगरपालिका पुग्नुभएको थियो ।