• १८ वैशाख २०८२, बिहिबार

अशक्तहरूलाई चकटी बुनाइ तालिम

blog

तालिमीहरु मकैको खास्टाबाट चकटी बन्नमा तल्लीन । तस्विरः बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, फागुन १३ गते । अपाङ्ग तथा दृष्टिविहीन समुदाय सेवा सङ्घ चरिकोटले यहाँका अपाङ्गता भएका समुदायको आयआर्जनका लागि एक हप्ते चकटी बुनाइ तालिम सञ्चालन गरेको छ । 

भीमेश्वर नगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूलाई सिप प्रदान गरी आयआर्जनमा तल्लीन गराउन यो तालिमको आयोजना गरिएको सङ्घका अध्यक्ष रामकृष्ण तामाङले जानकारी दिनुभयो । 

उहाँका अनुसार स्थानीय स्रोत साधनको प्रयोग गरौँ, परम्परागतको सिपलाई अभिवृद्धि गरौँ, फुर्सदको समयको सदुपयोग गरौँ, थोरै भए पनि आफूलाई आयआर्जनमा जोडौँ मुख्य नाराका साथ तालिम सञ्चालनमा ल्याइएको छ । तालिममा १० जना सहभागी रहेका छन् । उपयुक्त स्थान अभावले बाहिर तालिम सञ्चालन गर्नु परेको छ । तालिमीलाई यातायात खर्च दुई सय र खाना खाजाको व्यवस्था मिलाइएको छ । 

तालिममा सिकेको सिपलाई निरन्तर प्रयोगमा ल्याउन र आयआर्जनमा तल्लीन गराउन प्रोत्साहन स्वरूप उनीहरूले बनेका मकैका खोस्टाको चकटीको बजारको सुनिश्चित सङ्घले गरिदिन लागेको पनि उहाँले जानकारी दिनुभयो ।