• १३ मंसिर २०८१, बिहिबार

नौमुरे परियोजनाको काम धमाधम

blog

सलिम मियाँ

बिजुवार, फागुन १३ गते । प्युठान र अर्घाखाँचीको साँध नौमुरेमा निर्माण हुन थालेको २८१ मेगावाट क्षमताको नौमुरे परियोजनाको काम अगाडि बढेको छ । आयोजनाको विस्तृत अध्ययन र यसको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएपछि प्रारम्भिक चरणका पूर्वाधार निर्माणमा परियोजना प्रवेश गरेको हो । सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको छ करोड ४३ लाख रुपियाँबाट काम भइरहेको छ ।

आयोजनाका सूचना अधिकारी कृष्णप्रसाद गौतमले आयोजना क्षेत्रमा पूर्वाधार निर्माणको तयारी थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले आयोजना स्थल पुग्ने पहुँच मार्ग, पुल, क्याम्प र कार्यालयलगायतका पूर्वाधार निर्माणको कार्य तीन वर्षभित्रै सक्ने लक्ष्य अनुसार काम भइरहेको छ ।” पूर्वतयारीका सबै काम सकिएपछि मुख्य संरचना निर्माणको काम हुने सूचना अधिकारी गौतमले बताउनुभयो ।

अहिलेसम्म लामाताल जलाशयको रिभर ट्रेनिङ वर्कको डिजाइन बनाउने, आयोजना क्षेत्रको जग्गा अधिग्रहण, जलाधार क्षेत्र संरक्षण, जलाशयको परिधि छुट्याउने कार्य, शीतखोला पुलको डिजाइन तयार पार्ने कार्य सकिएको छ ।

यो वर्ष नौमुरे मुख्य जलाशयको माडी खोला र झिमरुक खोला दुवैतर्फ परिधि छुट्याउने कार्य, दर्भान (झिलिवाङ पहुँचमार्ग स्तरोन्नति र झिलिवाङ–नौमुरे बाँधस्थल पहुचमार्ग सुधार र निर्माण कार्य भइरहेको छ । 

प्रारम्भिक प्रतिवेदन अनुसार निकै सस्तो र बहुउपयोगी परियोजनाका रूपमा हेरिएको नौमुरे आयोजनामा अहिलेसम्म नेपाल सरकारले नै लगानी गरिरहेको छ ।

सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले नौमुरे परियोजना क्षेत्रका स्थानीयले निर्माणमा भएको ढिलाइका कारण परियोजना बन्दैन कि भनेर चिन्ता गर्न थालेको बताउनुभयो । यस आयोजना अन्तर्गत नौमुरे जलविद्युत् आयोजना २१८.३४ मेगावाट, लामाताल जलविद्युत् आयोजना आठ मेगावाट, सुराई नाका जलविद्युत् आयोजना ५४.७ मेगावाट गरी तीन वटा जलविद्युत् आयोजना निर्माण हुने छ । तीन वटै आयोजना जलाशययुक्त हुने छन् ।

यी आयोजनाहरू सम्पन्न हुँदा यसबाट दाङ, कपिलवस्तु र बाँकेको गरी कुल ८० हजार हेक्टर जमिनमा वर्षभरि नै  सिँचाइको सुविधा पुग्ने छ । नौमुरेमा १६० मिटर उचाइको बाँध बाँधेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

सम्भाव्यता अध्ययन अनुसार सात वर्षमा निर्माण गर्न सकिने नौमुरे परियोजनाका लागि एक खर्ब २६ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । कुल तीन हजार ४१४ वर्ग किलोमिटर क्षेत्र आयोजनाले प्रभावित हुने छ ।