• १३ साउन २०८१, आइतबार

२० लाख बालबालिकालाई दादुरा-रुवेलाविरुद्ध खोप

blog

रवीन्द्र उप्रेती

बर्दीबास, फागुन १२ गते । मधेश प्रदेशमा लक्षित उमेर समूहका करिब २० लाख बालबालिकाका लागि दादुरा–रुवेला खोप अभियान सञ्चालन गरिने भएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य’ नाराका साथ फागुन १३ गतेदेखि चैत ७ गतेसम्म सञ्चालन हुने अभियानमा प्रदेशका १९ लाख ४७ हजार १४२ जना बालबालिकालाई खोप लगाउने तयारी गरिएको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका अनुसार खोप लगाइने लक्षित उमेर समूहमा ९ महिनादेखि ५ वर्ष उमेरका ५ लाख ६० हजार २२ तथा ५ देखि १५ वर्ष उमेरका १३ लाख ८७ हजार १२० बालबालिका छन् । 

अभियानअन्तर्गत ८ वटै जिल्लाका १३६ स्थानीय तहमा ११ हजार ३४६ खोप केन्द्र निर्धारण गरिएको मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा राजीव झाले बताउनुभयो । खोप अभियानलाई सहज, सुलभ र प्रभावकारी ढङ्गमा सञ्चालन गर्न प्रदेशभर खोप कार्यकर्ता तथा स्वयंसेवक गरी ३१ हजार १६८ जना जनशक्ति परिचालन गरिएको छ । 

यसअघि एक हजार ५३० जना स्वास्थ्य संस्था प्रमुखहरूलाई योजना तर्जुमा गोष्ठिमार्फत् निर्देशनालयले सङ्क्रामक एवम् प्राणघातक रोग दादुरा–रुवेला विरुद्ध खोपको आवश्यकता, महत्त्व र समुदायमा निर्वाह गर्नु पर्ने भूमिकाबारे प्रशिक्षण दिएको थियो । 

नेपालले विश्व सामु सन् २०२६ सम्म दादुरा रुवेलामुक्त राष्ट्र बनाउने प्रतिबद्धता गरेको छ । यसैलाई पच्छ्यादै आउँदो असार १४ गते मधेश प्रदेशलाई पनि पूर्ण खोप प्रदेश घोषणा गर्ने लक्ष्य रहेको प्रदेश स्वास्थ्य निर्देशक डा झाले बताउनुभयो ।

अर्कोतर्फ मधेश प्रदेश दादुरा र रुवेलाको सर्वाधिक जोखिममा रहेको प्रदेश भएको विगतका घट्नाक्रमहरुले देखाएका छन् । मुख्यतया यहाँका ग्रामीण भेग दादुराको प्रकोपले आक्रान्त हुँदै आएको छ । अहिले खोप लगाउन छुटेका बालिकाबाट पछि जन्मने बच्चामासमेत रुवेला सङ्क्रमणको जोखिम रहने भएकोले खोप अभियानलाई सफल बनाउनु सबैको दायित्व भएको निर्देशक डा झाले बताउनुभयो।

यसैलाई दृष्टिगत गर्दै खोप तालिकाअनुसार खोप नपाएका २ वर्षमुनिका बालबालिकालाई समेत छुट भएका नियमित खोप पनि यो अभियानसँगै लगाइने तयारी गरिएको डा झाले जानकारी दिनुभयो । 

स्थानीय तहहरूले पनि कुनै बालबालिका दादुरा–रुवेलाको जोखिममा नपरून् भनी खोप अभियान सञ्चालनमा जुटेको दाबी गरेका छन् । भौगोलिक दृष्टिले महोत्तरीकै सबैभन्दा ठुलो बर्दिबास नगरपालिकाले चैत १३ गते सञ्चालन हुने अभियानमा लक्षित उमेरका २४ हजार बालबालिकालाई खोप लगाउने तयारी गरेको जनाएको छ । 

यसका लागि नगर क्षेत्रका १४ वटै वडामा ८० वटा खोप केन्द्र निर्धारण गर्नुका साथै खोप कार्यकर्ता तथा स्वयंसेवक गरी २०० जनशक्ति परिचालनको तयारी गरिएको नगर स्वास्थ्य शाखा प्रमुख सुरेश पासवानले जनाउनुभयो । 

खोप अभियानबाट लक्षित उमेरका कुने बालबालिका छुट्ना नपाओस् भनी नगरपालिकाले वडादेखि टोल बस्तीसम्म प्रचार प्रसारका र सचेतीकरण अभियानलाई तीव्रता दिएको पासवानले जनाउनुभयो।