• १२ साउन २०८१, शनिबार

मुसिकोट र सिर्सेनीलाई अध्यक्ष कपको उपाधि

blog

गुल्मी, फागुन ११ गते । गुल्मीको मदाने गाउँपालिकाद्वारा आयोजित दोस्रो अध्यक्ष कप भलिबलको उपाधि पुरुषतर्फ मुसिकोट नगरपालिका र महिलातर्फ मदाने गाउँपालिकाको वडा नम्बर–३, सिर्सेनीले जितेको छ । दोस्रो अध्यक्ष कपको अवसरमा यस जिल्लाका अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा प्रथम भएको मुसिकोट नगरपालिकाले चन्द्रकोट गाउँपालिकालाई ३–० को सेटले हरायो ।

प्रथम हुँदै मुसिकोट नगरपालिकाले एक लाख ११ हजार १११ रुपियाँ नगदसहित कप, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय भएको चन्द्रकोट गाउँपालिकाले ५५ हजार ५५५ रुपियाँ नगदसहित पदक र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय भएको सत्यवती गाउँपालिकाले मदाने गाउँपालिकालाई ३–१ सेटले हरायो । तृतीय भएको सत्यवती गाउँपालिकाले २५ हजार ५५५ रुपियाँ नगदसहित पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै, मदाने गाउँपालिका अन्तर्गत वडास्तरीय महिला भलिबल प्रतियोगितामा प्रथम भएको वडा नम्बर–३, सिर्सेनीले वडा नम्बर–५, मलागिरीलाई २–० सेटले हरायो । प्रथम हुँदै सिर्सेनीले ३३ हजार ३३३ रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय भएको मलागिरीले २२ हजार २२२ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय भएको वडा नम्बर–६, पुर्कोट दहले वडा नम्बर–४ म्यालपोखरीलाई २–० सेटले हरायो । तृतीय भएको पुर्कोट दहले ११ हजार १११ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा चन्द्रकोटका बिसन नेपाली र सिर्सेनीका अनिशा घर्तीलाई उत्कृष्ट खेलाडीका रुपमा सम्मान गरिएको हो ।

यस अवसरमा पालिकाभित्रका विभिन्न क्षेत्रका खेलाडीलाई नगद र प्रमाणपत्रसहित सम्मान समेत गरिएको छ । 

गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर, पूर्व पालिका अध्यक्ष दानबहादुर केसी, उपाध्यक्ष सरिता खड्का, प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थी लगायतले प्रथम, द्वितीय र तृतीय भएका खेलाडीलाई पुरस्कार वितरण गर्नुभयो । फागुन ७ गते प्रजातन्त्र दिवसको दिनदेखि सुरु भएको दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता अन्तर्गत अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा छत्रकोट गाउँपालिका बाहेक ११ पालिका र मदाने गाउँपालिका अन्तर्गत वडास्तरीय महिला भलिबल प्रतियोगिता सात वटै वडाको सहभागिता थियो ।