• २४ वैशाख २०८१, सोमबार

चार जनालाई ‘नइ पुरस्कार’

blog

काठमाडाैं, फागुन ११ गते । नइ प्रकाशनले चार जनालाई २०७९ सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । नइ प्रकाशनले जनचेतनाको संवर्द्धनका लागि नेपाली भाषाका माध्यमबाट अभिनय, नाटक, सिर्जना र हास्यव्यङ्ग्यका क्षेत्रमा विशिष्ट योगदान दिएबापत श्री शैलेन्द्र सिम्खडालाई ६० हजार रुपियाँ राशिको ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, राजधानीबाहिर बसेर नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि योगदान पुर्याएबापत झापाका श्रीमती रीमा पाण्डे ‘मिनी’लाई पचास हजार रुपियाँ राशिको ‘नइ बुलु शर्मा पुरस्कार’ प्रदान गरिने भएको छ ।

प्राध्यापन, अनुसन्धान तथा सिर्जनाद्वारा नेपाली भाषासाहित्यको विकासमा प्रशंसनीय कार्य गरेबापत डा.साधना प्रतीक्षालाई पचास हजार रुपियाँ राशिको ‘नइ देरुनीख गौरव पुरस्कार’ प्रदान गरिने भएको छ ।

समाजसेवाका फाँटमा समर्पित एवम् साहित्य, कला र संस्कृतिको संवर्द्धन हेतु क्रियाशील मिस नेवा सुश्री नितु डङ्गोललाई पच्चिस हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गरिने भएको छ ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।