• २२ असार २०८१, शनिबार

रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालय उद्घाटन

blog

इलाम समाचारदाता

इलाम, फागुन ११ गते । पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको साखेजुङमा रहेको रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयको बिहीबार औपचारिक उद्घाटन गर्नुभएको छ । 

इलाम नगरपालिका–१, साँखेजुङमा रहेको शिक्षालय २०७४ सालदेखि सञ्चालनमा आएको थियो । शिक्षालयको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले प्राविधिक शिक्षा अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो । दिनहुँ श्रमशक्ति बिदेशिइरहेको अवस्थामा दक्ष र प्राविधिक जनशक्ति तयार गर्न प्राविधिक शिक्षालयले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । औपचारिक शिक्षा पूरा गरे पनि हरेक व्यक्तिका लागि प्राविधिक शिक्षाले आयआर्जनको पाटो बलियो बनाउने हुँदा प्राविधिक शिक्षाको महत्व रहेको खनालको भनाइ थियो । खनालले अहिले अनुत्पादक शिक्षा भएको भन्दै देशको शैक्षिक क्षेत्रमा उत्पादनमूलक शिक्षाको परिवर्तनको खाँचो रहेको बताउनुभयो । इलाममा सञ्चालित यो शिक्षालय जिल्लाको मात्र नभएर देशकै सम्पत्तिका रूपमा रहेको बताउनुभयो । खनालले यसअघि आफ्नो जन्मगाउँमा निर्मित शिक्षालयका लागि ५६ रोपनी जग्गासमेत दान दिनुभएको थियो । 

शिक्षालयले स्थापनाको वर्ष डिप्लोमातर्फको तीनवर्षे पशुविज्ञान कार्यक्रम सञ्चालन गरेको थियो । २०७५/७६ सालमा बाली विज्ञान र वनविज्ञान थपियो । २०७७ सालमा सिभिल इन्जिनियरिङ र फार्मेसी सञ्चालन गरियो । २०७७ सालमा फार्मेसीतर्फ विशेष फार्मेसी कार्यक्रम थप गरी यो वर्षदेखि प्रिडिप्लोमातर्फको चिया प्रविधि पनि थपेर छ वटा कार्यक्रम सञ्चालन भइरहेको शिक्षालय प्रमुख दीपक खनालले बताउनुभयो । शिक्षालयमा यो वर्षदेखि चियाको प्राविधिक पढाइ सुरु भएको बताइएको छ ।