• १७ वैशाख २०८२, बुधबार

कासमूमा भरतपुर महानगर पहिलो

blog

भरतपुर समाचारदाता

चितवन, फागुन ११ गते । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । गत आर्थिक वर्ष २०७९/८० मा आयोगको मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो ।

महानगरका उपसचिव एवं निर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आव २०८१/८२ मा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले विभिन्न १७ वटा सूचकमा उल्लिखित अङ्क भारको आधारमा मूल्याङ्कन गर्ने गर्दछ । पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे/नगरेकोलगायतका सूचकमा मूल्याङ्कन गर्ने गर्दछ ।

समय सीमा अर्थात् समयभित्र बजेट ल्याए/नल्याएको, बजेट पास गरे/नगरेको, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए/नदिएकोलगायतका आधारमा अनलाइन पोर्टलबाट ‘अपलोड’ गरी सोही आधारमा अङ्क प्राप्त गर्ने प्रावधान छ । आयोगले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिकाले यस पटक ५६.२९ प्रतिशत अङ्क प्राप्त गरेको छ । जबकी काठमाडौँ महानगरपालिकाले ३९.०२, वीरगन्ज महानगरपालिकाले ३३.४९, विराटनगर महानगरपालिकाले ३२.८५, ललितपुर महानगरपालिकाले २५.१८ र पोखरा महानगरपालिकाले २०.७४ प्रतिशत अङ्क पाएका छन् ।

चितवन जिल्लाका सात पालिकामध्ये पनि भरतपुर महानगर पहिलो स्थानमा छ । महानगरले ५६.२९ प्रतिशत अङ्क पाउँदा इच्छाकामना गाउँपालिकाले ४२.०६ प्रतिशत, खैरहनी नगरपालिकाले ४०.५१ प्रतिशत, रत्ननगर नगरपालिकाले ४०.०१ प्रतिशत, कालिका नगरपालिकाले ३५.६८ प्रतिशत, राप्ती नगरपालिकाले ३१.७५ प्रतिशत र माडी नगरपालिकाले २६.२० प्रतिशत अङ्क प्राप्त गरेका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देशभरका ७५३ पालिकामध्ये भरतपुर महानगरले सहरी पूर्वाधार, खेलकुद, न्यायिक समितिमार्फत मुद्दा फस्र्योटलगायतका विषयमा सधैँ उकृष्ट बन्दै आइरहेको दाबी गर्नुभयो । उहाँले महानगरलाई उत्कृष्ट साबित गर्न खटिनुहुने जनप्रतिनिधि एवं कर्मचारी परिवारलाई धन्यवाद दिँदै उहाँले आम महानगरवासीका लागि यो गौरवको विषय भएको बताउनुभयो ।