• १३ साउन २०८१, आइतबार

कर्णालीका २८ सय बढीको आँखा परीक्षण

blog

पूर्वी सुर्खेतको मेहलकुनामा गरिएको आँखा शिविर कार्यक्रम : गाेरखापत्र

नवीन सुवेदी

सुर्खेत, फागुन ११ गते । जिल्लाको पूर्वी क्षेत्रमा आँखाका बिरामीहरूमा मोतिया बिन्दुको डरलाग्दो अवस्था रहेको पाइएको छ । फागुन महिनाको पहिलो हप्तामा मेहलकुनामा बसेको तीन दिने निःशुल्क आँखा शिविरमा मात्रै ३ सय बढी बिरामीहरुले मोतिया बिन्दुको सफल अप्रेसन गराएको एकीकृत आँखा कान तथा स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश संयोजक मानबहादुर कँवरले जानकारी दिनुभयो ।  

निःशुल्क आँखा शिविर कार्यक्रममा पूर्वी सुर्खेत र सल्यानका गरी २८ सय ४० जनाले निःशुल्क आँखा परीक्षण गरेका छन् ।  माघको १७ गतेदेखि मोतियाविन्दू शिविर सुरु भएको थियो । फागुन दुई गतेसम्म स्क्रिन भयो भने फागुन ५ गतेसम्म सर्जरी सेवा दिइएको थियो ।  प्रमुख कुँवरका अनुसार परीक्षण गरिएकामध्ये ४ सय २४ जना मोतिया विन्दुको समस्या देखा परेको थियो । त्यसमध्ये ३ सय १ जनाको निःशुल्क अप्रेसन गरिएको थियो भने बाँकीलाई निःशुल्क औषधि वितरण गरिएको थियो । राप्ती आँखा अस्पताल दाङका डाक्टर सुरेश रसाइलीले निःशुल्क अप्रेसन गर्नुभएको थियो । 

उक्त शिविरमा पूर्वी सुर्खेतका गुर्भाकोट, भेरीगंगा नगरपालिका तथा सिम्ता गाउँपालिका र सल्यानको बनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकाका नागरिकहरू सहभागी थिए । नेपाल नेत्र ज्योति सङ्घ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सुर्खेतको आर्थिक सहयोग तथा गुर्भाकोट नगरपालिकाको सहकार्य ,नेपाल नेत्र ज्योति सङ्घ सामुदायिक आँखा उपचार केन्द्र (सर्जिकल सेन्टर )तथा नेपाल नेत्र ज्योति सङ्घ राप्ति आँखा अस्पतालको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको थियो । 

यस्तै नेपाल नेत्र ज्योति सङ्घ सामुदायिक आँखा उपचार केन्द्र गुर्भाकोट सुर्खेतको आयोजनामा आँखा शिविर सञ्चालन भएको थियो । पछिल्लो समय नेपाल नेत्र ज्योति सङ्घले कर्णाली प्रदेशमा एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम लागू गरेको छ । जसबाट कर्णालीका हजारौँ नागरिकले निःशुल्क सेवा पाउँदै आएका छन् ।