• १२ साउन २०८१, शनिबार

लण्डनमा भूपू गोर्खाहरुको पेन्सन बढाउन पहल

blog

नेपाल र बेलायत सरकारका प्रतिनिधिहरूबीच भएको बैठकमा सहभागीहरू ।

करुण अर्याल

लण्डन,फागुन १० गते । भूतपूर्व गोरखा सैनिकहरूका विभिन्न मागका सम्बन्धमा नेपाल सरकार र बेलायत सरकारका प्रतिनिधिहरूबीच भएको बैठकमा प्राविधिक समितिको बैठक थप छलफल गरी बढाउने सहमति भएको छ ।

लण्डनस्थित बेलायती रक्षा मन्त्रालयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा बुधबार सम्पन्न भएको प्राविधिक स्तरको बैठकमा भूपू गोर्खाहरुका पेन्सन, अध्यागमनलगायतका विषयमा विस्तृत छलफल भएको थियो । 

 दूतावासले बैठकपछि जारी गरेको विज्ञप्तिमा बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका विषयहरुमा विभिन्न सम्बन्धित निकाय तथा पदाधिकारीहरुसँग आन्तरिक छलफल गरी आगामी बैठहरुमा जानकारी गराउने जनाएको छ । 

वार्तामा सहभागी लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले बैठकमा उठेका मुद्दामा बुँदागत रुपमा छलफल भएको जानकारी दिँदै बेलायत राजी नभएका पेन्सनसहितका मुद्दामा पनि भूतपूर्व गोर्खा र नेपाल सरकारका तर्फबाट आफूहरुले जोडदार रुपमा कुरा राखेको बताउनुभयो । उहाँले आफुहरुले राखेका विषयमा बेलायती पक्षले सम्बन्धित निकाय र मन्त्रीको तहमा सल्लाह गरेर जवाफ दिने आश्वासन दिएको पनि जानकारी दिनुभयो ।  

मार्च २७ मा हुने मन्त्रीस्तरीय वार्ताअघि नै बैठकमा उठाइएका विभिन्न विषयमा छलफल गरी सहमतिमा पुग्न प्राविधिक समितिलगायतको थप बैठकहरू राख्ने सहमति भएको वार्तामा सहभागी मेजर रिटायर्ड जुदबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँले मार्च २७ अघि प्राविधिक समितिको भर्चुअल र प्रत्यक्ष उपस्थिति रहने बैठक हुने जानकारी दिनुभयो । यसअघि फेब्रुअरी २१ मा प्राविधिक समिति र मार्च २७ मा मन्त्रीस्तरीय वार्ताका लागि मिति तोकिएको थियो ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उपनियोग प्रमुख खनाल, सैनिक सहचारी महासेनानी अनुप शाह तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर -अवकाश_ जुदबहादुर गुरुङ्ग, मेजर -अवकाश_ उदयबहादुर गुरुङ्ग -अवकाश_, पुष्पा राणा घले तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालयअन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको थियो । बैठकमा बेलायतका गृह मन्त्रालयका अधिकारीहरूले भर्चुअल रूपमा भाग लिएका थिए ।