• १२ साउन २०८१, शनिबार

खेलाडीलाई आहार र पोषण सम्बन्धी तालिम

blog

आहार र पोषण सम्बन्धी तालिममा सहभागीहरु ।

काठमाडौँ, फागुन १० गते । राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई आहार र पोषण सम्बन्धी तालिम प्रदान गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक हासिल गर्ने लक्ष्य तथा आसन्न ओलम्पिक खेलकुद, इन्डोर एसियन गेम्स र साग गेम्सलाई समेत मध्यनजर गरी सञ्चालन गरेको प्रशिक्षणमा सहभागी खेलाडीलाई यस्तो तालिम प्रदान गरेको हो । 

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भएको तालिममा सञ्जय महर्जनले सहभागीलाई कुन खाना कति मात्रमा खादा उपयुक्त हुन्छ भन्ने विषयमा ज्ञान दिनु भएको थिए । राखेपले खेलाडीलाई उपलब्ध गराएको खुराक खर्च सदुपयोग होस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले जानकारी दिनुभयो ।

उहाँले खेलाडीले सन्तुलित आहार सेवन गरुन् भन्ने कुरालाई मध्यनजर गरी डाइट खाने ठाउँमा गएर डाइटिसियनले अनुगमन पनि गरिरहेको बताउनुभयो । यसअघि खेलाडीको फिजिकल टेस्ट र स्ट्रेन्थ ट्रेनिङको परीक्षण भएको थियो । अब खेलाडीको स्वास्थ्य परीक्षण, योगा कक्षा, मोटिभेसन कक्षालगायत कार्यक्रम सञ्चालन गरिने राखेपले जनाएको छ ।