• १२ साउन २०८१, शनिबार

कार्य सम्पादनमा सूर्योदय पहिलो

blog

सूर्योदय नगरपालिका कार्यालय ।

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम) फागुन १० गते । स्थानीय तह कार्य सम्पादनमा इलामका १० पालिका मध्ये सूर्योदय नगरपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्कनको नतिजा अनुसार सूर्योदय नगरपालिका ४१ दशमलव ८५ अङ्कसहित जिल्लाको पहिलो भएको हो । 

इलामको दोस्रो भएको देउमाई नगरपालिकाले ३८.९ अङ्क ल्याएको छ । नतिजा अनुसार रोङ गाउँपालिका ३८.३६ अङ्कसहित तेस्रो र जिल्लाका गाउँपालिका मध्ये पहिलो भएको छ।

जिल्ला सदरमुकाम समेत रहेको इलाम नगरपालिका ३७.५९ अङ्कसहित चौथो भएको छ भने ३४.१७ अङ्कसहित सन्दकपुर गाउँपालिका पाँचौँ भएको छ । माइजोगमाई गाउँपालिका ३३.७८ अङ्क ल्याएर छैटौँ हुँदा ३३.४२ अङ्क ल्याएको माङ्सेबुङ गाउँपालिका सातौँ स्थानमा छ । चुलाचुली गाउँपालिका ३१.८६, फाकफोकथुम गाउँपालिका ३०.९४ र माई नगरपालिका २८.३ अङ्कसहित क्रमशः आठौँ, नवौँ र १०औँ भएका छन् । 

केही महिनाअघि सार्वजनिक तथ्यांकअनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा पनि सूर्योदय नगरपालिका ९६ प्रतिशत अङ्क सहित जिल्लाको उत्कृष्ट भएको थियो । आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गर्दा विभिन्न १७ सूचकलाई आधार बनाएको थियो । सूर्योदय नगरपालिका गत वर्ष आर्थिक विकास तर्फ देशकै उत्कृष्ट भएको थियो । 

पर्यटकीय नगर घोषणा गरिएको सूर्योदय नगरपालिकाले यसअघि नै बालमैत्री नगरपालिका घोषणा भइसकेको छ । नगरले वडा नं. ९ लाई पोषणमैत्री वडा घोषणा गर्ने तयारी गर्दैछ । 

शिक्षा, स्वास्थ्य, पर्यटनसहित विकास निर्माणका काममा सूर्योदय अब्बल पालिकाका रूपमा अगाडि बढिरहेको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले आगामी दिनमा थप सूचक पुरा गर्ने गरी काम गर्ने जानकारी दिनुभयो ।