• १३ असोज २०८१, आइतबार

बुढासुब्बा गोल्डकप फागुन अन्तिममा

blog

बुढासुब्बा गोल्डकप बारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

निशा राई

धरान, फागुन १० गते । धरानको चर्चित फुटबल प्रतियोगिता वुढासुब्बा गोल्डकपको २४औँ संस्करण फागुन २६ देखि चैत्र ३ गतेसम्म हुने भएको छ । धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी ९० प्रतिशत पूरा भइसकेको जानकारी दिएको हो । 

प्रतियोगितामा ६६ लाख ५५ हजार रुपियाँ अनुमानित खर्च लाग्ने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बताउनुभयो । नेपाली फुटबलको इतिहासमा धरान फुटबल क्लबले गर्ने अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताले फुटबलमा इँटा थप्ने काम गरेको क्लबका मानार्थ अध्यक्ष तथा कोशी प्रदेश खेलकुद सङ्घका अध्यक्ष किशोर राईले बताउनुभयो ।

प्रतियोगितामा चर्च ब्वाईज क्लब (लिग च्याम्पियन), श्रीस्टार क्लब, धरान फुटबल क्लब, एनआरटी काठमाडौँ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल सङ्घ मोरङ, भारतीय क्लब (युके एफसी) ले सहभागिता जनाउने छन् । 

प्रतियोगितामा विजेताले १० लाख रुपियाँ, उपविजेताले पाँच लाख रुपियाँ पाउनेछ । यस्तै उत्कृष्ट खेलाडीलाई एक लाख, सर्वाधिक गोल कर्तालाई ३५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार रुपियाँ प्रदान गरिनेछ । उत्कृष्ट विधाका खेलाडीलाई जनही २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।