• १२ साउन २०८१, शनिबार

स्वास्थ्य संस्थामा गरिने परीक्षण र उपचारको शुल्क निर्धारण गर्न माग

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तोषिमा कार्की

काठमाडौं, फागुन १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तोषिमा कार्कीले स्वास्थ्य संस्थाहरूले गर्ने परीक्षण र उपचार खर्चमा एकरूपता ल्याउन मापदण्ड बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद कार्कीले तरकारीदेखि तेलसम्म र नुनदेखि सुनसम्मको मूल्य राज्यले तोकिदिएको भएपनि बिरामीको उपचारजस्तो अति संवेदनशील विषयमा राज्यले कुनै शुल्क नतोकेको बताउनुभयो ।

उहाँले परीक्षण र उपचारको कुनै शुल्क निर्धारण नहुँदा निजी र सरकारी स्वास्थ्य संस्थाहरूले आफूखुसी शुल्क लिइरहेका भन्दै यसको नियमन हुनुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्य उपचार गर्न पनि लुगा र जुत्ता बेचेजस्तो मोलमोलाइ भइरहेको बताउनुभयो । एउटै ल्याब परीक्षणमा पाँच गुणा बढीसम्म शुल्क लिइएको प्रमाण आफूले भेटेको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले शुल्क निर्धारण समितिलाई तत्काल सक्रिय बनाएर शुल्क निर्धारण गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘सभामुखमार्फत स्वास्थ्यमन्त्रीज्युलाई आग्रह गर्दछु, स्वास्थ्य मन्त्रालय अन्तर्गतको शुल्क निर्धारण समितिलाई तत्काल सक्रिय बनाइयोस् । र स्वास्थ्य संस्थाहरूमा दिइने स्वास्थ्य सेवाहरूको वर्गीकृत आधारमा शुल्क निर्धारण गरेर नागरिकले थाहा पाउने व्यवस्था मिलाइयोस् । हामीसँग विज्ञहरू पनि छन् । कस्तो गर्न सकिन्छ, कसरी गर्न सकिन्छ भनेर खाका पनि छ । मागोस्, सोधोस्, खोजोस् । हामी तयार छौँ सहयोग गर्नका लागि ।’’

उहाँले बिरामीहरू कहाँ सस्तोमा उपचार गर्न पाइन्छ भनेर भौँतारिएर हिँड्नुपर्ने अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।