सचिन पोख्रेल
इटहरी, फागुन १० गते । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न आउनेजाने तथा सगरमाथा बेस क्याम्प, खुम्बु क्षेत्रको भ्रमण गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक र स्थानीय बासिन्दाको सुविधाका लागि खुम्बु क्षेत्रमा आधुनिक सार्वजनिक शौचालय निर्माण भएको छ ।
सगरमाथा क्षेत्रको पदमार्गमा शौचालय अभावमा पर्यटक तथा स्थानीय सर्वसाधारणले भोगिरहेको समस्या समाधान गर्न नेपाली सेनाले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ्ग ल्हामु गाउँपालिका वडा नं ४ स्थित फुङ्गि थेङ्गा इलाकामा आधुनिक शौचालय निर्माण गरेको हो ।
नेपाली सेनाका पूर्वी पृतनापति उपरथी डा. आस बहादुर तामाङका अनुसार सेनाको ‘क्विक इम्प्याक्ट प्रोजेक्ट’ कल्याणकारी परियोजना अन्तर्गत चालु विनियोजित रकमका साथै सगरमाथा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणशूर गुल्ममा कार्यरत सैनिक सकलदर्जाको टोलीले करिब तीन महिनाको अथक प्रयासमा चार कोठाको आधुनिक शौचालयको निर्माण गरिएको हो ।
रणशूर गुल्मका गुल्मपति सेनानी प्रचण्ड विक्रम भारतीले नवनिर्मित सो आधुनिक शौचालय पूर्वी पृतनापति उपरथी तामाङले एक कार्यक्रमका बिच उद्धाघटन गरी सगरमाथा राष्ट्रिय निकुञ्ज अन्तरगत रहेको खुम्बिला मध्यवर्ती क्षेत्र उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुभएको जानकारी दिनुभयो ।
सो अवसरमा पृतनापति उपरथी तामाङले सार्वजनिक शौचालयको महत्त्व, यसको सरसफाइ र प्रभावकारी सञ्चालनमा जोड दिँदै नवनिर्मित सार्वजनिक शौचालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई सुविधा प्रदान गरी पर्यटक प्रवर्द्धनमा थप टेवा पुग्नुको साथै नागरिक सैनिक सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कुस्मा रानाले नेपाली सेनाले निर्माण गरेको सार्वजनिक शौचालयले सगरमाथा राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सगरमाथा राष्ट्रिय निकुञ्ज विभिन्न देशका पर्यटकहरूको एक प्रमुख गन्तव्य रहँदै आएको छ । रणशूर गुल्मले दिएको जानकारी अनुसार बर्सेनि करिब ५० हजार स्वदेशी विदेशी पर्यटकहरूले सगरमाथा राष्ट्रिय निकुञ्ज अन्तरगत रहेका सगरमाथा, ल्होत्से, आमादव्लम हिमाल आरोहणका साथै सगरमाथा आधार शिविर, कालापथ्थर, गोक्यो ताल लगायत स्थानहरूमा भ्रमण गर्ने गर्दछन् । भ्रमण गर्ने क्रममा खुम्बु पासाङ्ग ल्हामुको फुङ्गि थाङ्गा इलाकामा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको चेक पोष्ट हुँदै पैदल यात्रा गर्ने हुँदा उक्त स्थानमा लामो समय देखि सार्वजनिक शौचालयको आवश्यकता महसुस गरेको थियो ।
सोही आवश्यकतालाई महसुस गरी नेपाली सेनाको पूर्वी पृतना मुख्यालयको निर्देशन र समन्वयमा रणशूर गुल्मले निर्माण गरेको नवनिर्मित सार्वजनिक शौचालयले स्वदेशी विदेशी पर्यटक र स्थानीय बासीलाई सुविधा प्रदान गरी पर्यटक प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।