• १२ मंसिर २०८१, बुधबार

हराउँदै हिमालको सौन्दर्य

blog

मुगु समाचारदाता

मुगु, फागुन ९ गते । फागुन लागिसक्दा समेत चङ्खेली हिमाल यस पटक कालापत्थरजस्तै बनेको छ । हिमाली जिल्ला मुगुमा यस वर्ष हिउँ नपर्दा हिमालको सौन्दर्य हराउँदै गएको छ ।

विगतका वर्षमा मङ्सिर अन्तिम र पुस पहिलो साताबाटै हिउँ पर्न सुरु हुनेमा यस वर्ष फागुन लागिसक्दा पनि हिउँ परेको छैन । यसले गर्दा हिउँले टल्किने यहाँको चङ्खेली हिमाल यतिबेला कालो पहाडमा परिणत हुँदै गएको स्थानीय गोमबहादुर बुढाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यति बेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । खेतबारीमा हिउँको सिँचाइले यहाँका कृषक कात्तिके बाली लगाउन खेतबारीमा हलो लगाउन व्यस्त हुन्थे । अहिले खेतबारी सुक्का हुँदा यहाँका कृषकलाई हलो लगाउन पनि असहज भएको छ ।”

छायानाथ रारा नगरपालिका–१४ का स्थानीय हंसलाल बडुवालले हिमालमा हिउँ नभएका कारण चङ्खेली हिमाल र रारातालको मिलीचौरको सौन्दर्य हराउँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला जस्तो हिउँ पर्नै छाड्यो, मङ्सिरमा परेको हिउँले चङ्खेली हिमालमा वैशाख जेठसम्म हिउँ हुन्थ्यो र हिँड्न पनि गाह्रो हुन्थ्यो । अहिले हिउँबिनाको हिमाल उजाड देखिन्छ ।”

सिजनमा हिउँ नपर्दा हिमालको प्राकृतिक सुन्दरता नै गुमेको देखिन्छ । सेता हिमाल कालापत्थरमा परिणत भएका छन् । हिउँ परिहाले पनि १० वर्षपहिलाको जस्तो बाक्लो हिउँ पर्न छाडेको छ । 

जिल्लामा सबैभन्दा पहिला हिउँ पर्दा मुगुको चङ्खेली हिमाल र राराको मिलीचौर क्षेत्रमा हिउँ पर्ने गथ्र्याे । तर यो वर्ष फागुन पहिलो सातासम्म पनि मौसम सफा रहेको र हावा चलिरहेको स्थानीय हंसको भनाइ छ ।