• १३ साउन २०८१, आइतबार

कालीकोटका १७ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाइने

blog

प्रेमराज सिम्खडा  
कालीकोट, फागुन ९ गते ।
कालीकोटका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्लाका नौ वटा स्थानीय तहमा रहेका १७ हजार ४१७ जना नौ महिनादेखि पाँच वर्ष मुनिका बालवालिकालाई खोप दिने तयारी भइरहेको जानकारी गराएको छ ।

पछिल्लो समय बालवालिकामा दादुरा देखा पर्न थालेपछि त्यसबाट बालवालिकालाई मुक्त गर्न खोप दिन थालिएको हो । स्वास्थ्य सेवा कार्यालय कालीकोटले सरोकारवालासँग गरेको जानकारी मुलक अन्तरक्रियामा जिल्लाका नौ स्थानीय तहमा दुई चरणमा खोप अभियान सञ्चालन गर्ने जनाएको हो ।

कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले पहिलो चरणमा खाँडाचक्र नगरपालिका, पलाँता गाउँपालिका, नरहरीनाथ गाउँपालिका, महावै गाउँपालिका र तिलागुफा नगरपालिकामा फागुन १३ देखि १५ गतेसम्म खोप सञ्चालन गरिने बताउनुभयो ।

यस्तै, रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र शुभकालिका गाउँपालिकामा फागुन १७ देखि १९ गतेसम्म खोप सञ्चालन गरिने जानकारी छ । खोप सञ्चालन सम्बन्धी सूचना जिल्लाका सामुदायि रेडियोबाट पनि प्रशारण भइरहेको छ । जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावतले समयमै खोप पाउनु बालवालिकाको अधिकार भित्र पर्ने भन्दै त्यसको व्यवस्थापन राज्यका जिम्मेवार निकायले गर्नु पर्ने बताउनुभयो ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश बहादुर नेपालीले पूर्ण खोप पाएको जिल्लामा यस्ता अभियान निरन्तर चलेमा घोषणाले सार्थक्ता पाउने बताउनुभयो । कार्यक्रममा सहभागी जिल्लाका सरोकारवालाहरुले खोपबारेमा यसरी पूर्व नै जानकारी भएको खण्डमा कोही पनि बालबालिका खोप पाउनबाट नछुट्ने धारणा राखेका थिए । यस अघि जिल्लामा सञ्चालन गरिएको टाईफाईडविरुद्धको खोप ४९ हजार ९०६ जनाले लगाएका थिए । यो कालीकोटको जम्मा खोप पाउने लक्षित जनसङ्ख्याको ८७ प्रतिशत हो ।

केही नागरिक जिल्ला बाहिर रहेकाले जहाँ छन त्यही खोप लगाएका थिए । भूकम्प प्रभावित जिल्ला रुकुम, जाजरकोटमा सहयोगका लागि झण्डै कालीकोटका दुईभन्दा बढी नागरिक गएकाले खोप पनि उतै गएर लगाएका थिए । टाईफाईड खोपमा १८ देखि ४५ वर्ष उमेर समूहका नागरिक सहभागी भएका थिए । यो दादुरा रुबेला खोपमा भने नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिका मात्र सहभागी हुने छन् । दादुरा रुबेला यदी कुनै बालबालिकामा भएमा एक जनाले कम्तीमा पनि १८ जनालाई सङ्क्रमण गर्न सक्ने भएकाले समयमै खोप लगाउनु पर्ने चिकित्सकको भनाइ छ ।